होबार्ट, तास्मानिया – तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँदै, सृजा पोखरेलले आगामी गैर आवासीय नेपाली संघ (NRNA) तास्मानिया – नारी निकुञ्ज अन्तर्गत महिला संयोजक (2025–2027) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
२०१८ मा तास्मानिया आइपुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय छिन्। चाहे नेपाली भाषा र लोकनृत्य सिकाउने शिक्षिका, नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको कार्यकारी सदस्य, रेडक्रसमा स्वास्थ्य शिक्षिका, वा NRNA नारी निकुञ्ज सदस्यको रूपमा—उनको योगदान बहुआयामिक रहँदै आएको छ।
उम्मेदवारी घोषणा गर्दै पोखरेलले भनिन्: “समुदायसँगको मेरो यो यात्रा केवल जिम्मेवारी होइन, यो मेरो आत्मीयता र पहिचानको निरन्तर यात्रासँग जोडिएको छ। अब महिलाहरूको निर्णायक सहभागिता र नेतृत्व विकासमा सशक्त अभियान अघि बढाउने प्रतिबद्धताका साथ यो उम्मेदवारी अघि सारेकी छु।”
प्रमुख एजेन्डाहरू:
🔸 नेपाली भाषा, भेष र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तासम्म यसको हस्तान्तरण
🔸 महिला नेतृत्व विकास र निर्णायक तहमा पहुँच
🔸 सीप विकास, सशक्तिकरण तथा करियर सहयोग कार्यक्रम
🔸 विद्यार्थी, युवा तथा नयाँ आप्रवासी महिलाहरूको समावेश र सहकार्य
🔸 महिला सञ्जालको विस्तार, एकता र सहकार्य प्रवर्द्धन
🔸 स्वास्थ्य सचेतना, घरेलु हिंसाविरुद्ध सचेतना र समग्र महिला कल्याण
🔸 तास्मानियाका अन्य नेपाली संघ–संस्थाहरूसँग सहकार्य र सहसंयोजन
सृजा पोखरेलले आफ्नो अनुभव, प्रतिबद्धता र आत्मीयताको माध्यमबाट नेपाली महिलाको सशक्त आवाज संस्थागत ढंगमा अगाडि ल्याउने दृढता प्रकट गरेकी छन्। उनले सम्पूर्ण तास्मानियावासी नेपाली समुदाय, विशेष गरी महिला दिदीबहिनीहरूबाट समर्थन र सुझावको अपेक्षा समेत गरेकी छन्।