डर्विन, अष्ट्रेलिया — आगामी २०२५–२०२७ कार्यकालका लागि हुने गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को राज्य समन्वय परिषद् (SCC) निर्वाचनमा आकाश बी.सी. (बुढाथोकी क्षेत्री) ले राज्य सचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्: “यो पदप्रति गर्व र जिम्मेवारीको गहिरो भावनाका साथ म उम्मेदवार बनेको हुँ। हामी सबै मिलेर NT को नेपाली समुदायलाई अझ समावेशी, सक्रिय र एकीकृत बनाउने दिशामा अघि बढ्न चाहन्छौं।”
भवानी पौडेलप्रति समर्थन
उनले यस निर्वाचनमा राज्य समन्वयक पदका उम्मेदवार भवानी पौडेलप्रति आफ्नो स्पष्ट समर्थन व्यक्त गरेका छन्। “भवानी दाइ एक निष्ठावान्, अनुभवसिद्ध र उत्तरदायी नेता हुनुहुन्छ। उहाँको इमानदारी र पारदर्शितामै मेरो विश्वास रहेको छ,” आकाशले बताए।
समुदायमा निरन्तर सक्रियता
आकाश बी.सी. सन् २०२० मा डर्विन आइपुगेपछि निरन्तर नेपाली समुदायमा सक्रिय रहँदै आएका छन्।
सन् २०२१ देखि २०२३ सम्म उनले एनआरएनए एनटी SCC को संयुक्त सचिवका रूपमा सेवा गरेका थिए।
त्यस अवधिमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममार्फत नेपाली पहिचान र एकता प्रवर्द्धनमा योगदान दिएका थिए।
पछिल्लो दुई वर्षसम्म कुनै पद नहुँदा पनि, उनले कार्यक्रममा सहयोग, सुझाव, सहभागिता र प्रतिनिधित्व गर्दै समुदायप्रति आफ्नो निरन्तर समर्पण देखाएका थिए। “पद नभए पनि म सधैं समुदायको साथमा थिएँ—आवाजमा, प्रयासमा र उपस्थितिमा,” उनले भने।
भावी दृष्टिकोण
उनले भवानी पौडेल नेतृत्वको घोषणापत्र र एजेन्डालाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै भनेका छन्: “उत्तरदायित्व, सहकार्य र समावेशी प्रगतिलाई प्राथमिकता दिइएको यस अभियानको हिस्सा बन्न पाउँदा मलाई गर्व छ।”
उनले निर्वाचन प्रक्रियाप्रति केही निराशा जनाउँदै भनेका छन् कि समयमै संवाद र सहमतिबाट यो प्रक्रिया टुंगिनु उपयुक्त हुनेथियो, तर अब आफू यो यात्रामा पूर्ण तयारीसाथ उभिन तयार भएको उल्लेख गरेका छन्।