डब्लिन, आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डका वर्तमान उपाध्यक्ष शिव थापाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि ICC सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायमा लामो समयदेखि समर्पित सेवा र नेतृत्व गर्दै आएका थापाले आफ्नो घोषणामा भनेका छन्, “आयरल्याण्डमा रहेका सम्पूर्ण नेपाली समुदायका सम्माननीय सदस्यहरूलाई नमस्कार। तपाईंहरूको एकता, समर्थन र सामूहिक शक्ति मेरो प्रेरणाको मूल स्रोत हो, र भविष्यमा पनि यही भावना बोकेर म काम गर्दै जानेछु।”
सेवा र निष्कपट नेतृत्वको प्रतिबद्धता
शिव थापा एनआरएनए आयरल्याण्डमा उपाध्यक्षको भूमिकामा रहँदा वैदेशिक रोजगार, कानुनी समस्या, विद्यार्थी तथा महिलाको सहभागिता लगायतका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
उनको भनाइमा, “पदभन्दा काम महत्वपूर्ण हुन्छ, र पहिचानभन्दा परिणाम। मैले विद्यार्थी, श्रमिक, व्यवसायी, पेशाकर्मी सबैका मुद्दामा आवाज उठाएको छु—न्याय, पहिचान र सहभागिताका लागि।”
ICC मा उनको प्रतिबद्धता यसप्रकार छ:
🔹 उत्तरदायी र पारदर्शी नेतृत्व
🔹 नेपाल–आयरल्याण्ड सम्बन्ध मजबुत बनाउन पहल
🔹 विश्वभरका नेपालीहरूलाई एउटै सञ्जालमा बाँध्ने अभियानमा योगदान
🔹 समुदायका आवाजलाई अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्ने प्रतिबद्धता
थापाले थपे, “हामी सबैको साझा मूल्य र एकतामा नै हाम्रो बल छ। म तपाईंहरूको प्रतिबिम्ब र प्रतिनिधि भएर ICC मा जवाफदेही र ऊर्जावान आवाज बन्ने प्रतिबद्धता लिन्छु।”
“हामी सबै मिलेर NRNA लाई अझ अगाडि बढाऔं। कृपया मलाई तपाईंको साथ, समर्थन र अमूल्य मत दिनुहोस्,” भनी थापाले अन्त्यमा आग्रह गरेका छन्।