काठमाडौंँ । — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सन्तोष शर्माले महासचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि क्रियाशील रहँदै आएका शर्मा भन्छन्: “यो उम्मेदवारी केवल पदको लागि होइन, बरु नेपाली पहिचान, भाषा र संस्कृतिलाई प्रवासमा अझ सशक्त रूपमा जगेर्ना गर्नका लागि हो।”
सन्तोष शर्माको प्रमुख एजेन्डा:
१. प्रवासी नेपाली नयाँ पुस्तामा भाषा र संस्कृतिको सम्बन्ध बलियो बनाउने
सांगीतिक कार्यक्रम, भाषा प्रवर्द्धन पहल, सामुदायिक सहभागिता र सञ्चार माध्यममार्फत बालबालिका र युवापुस्तामा नेपालीपनको भावना रोप्ने कार्यक्रमहरू सञ्चालन गर्ने।
२. संस्कृतिकर्मी, शिक्षाविद् र अभियन्तासँग सहकार्य
प्रवासी परिवेशमा भाषा र संस्कृतिको उत्तराधिकार सुनिश्चित गर्न, संगठित रूपमा अभियान सञ्चालन गर्ने संयोजनकर्ता को भूमिका निर्वाह गर्ने।
३. सशक्त सचिवालय सञ्चालन
महासचिवको भूमिकालाई केवल व्यवस्थापनको हैन, सामुदायिक आवाजलाई संस्थागत रूपमा अगाडि बढाउने संयन्त्रको रूपमा विकास गर्ने।
शर्माले अघिल्लो वर्षहरूमा प्रवासी नेपाली समुदायबीच भाषा, संस्कार र मौलिक चिनारीका लागि सञ्चालन गरिएका कक्षा, पर्व, सांस्कृतिक कार्यक्रममा नेतृत्वदायी भूमिका खेलेका थिए।
“हाम्रो उद्देश्य केवल सांस्कृतिक गौरवमा रमाउने होइन, त्यसको सार्थक उत्तराधिकार तयार पार्ने हो,” उनले स्पष्ट पारे।