डब्लिन, आयरल्याण्ड – १३ जुलाई २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डका सक्रिय समाजसेवी तथा पूर्व कार्यकारिणी सदस्य प्रकाश सापकोटाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि एनआरएनए ICC सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। दुई वर्षको सफल कार्यकालपछि उनले पुनः समुदायको सेवामा निरन्तरता दिने प्रतिबद्धताका साथ यो कदम चालेका हुन्।
“गएको दुई वर्षको यात्रामा मैले धेरै कुरा सिकें, अनुभव बटुलें र नेपाली समुदायसँग आत्मीय सम्बन्ध गाँसेँ,” सापकोटाले भने, “तपाईंहरूको साथ र समर्थनले NRNA आयरल्याण्डलाई धेरै अगाडि बढाएको छ। अब फेरि तपाईंहरूको भरोसा पाए, हामी अझ प्रभावकारी रूपमा काम गर्नेछौं।”
सापकोटा एक ऊर्जाशील र सामाजिक अनुभवले भरिपूर्ण टिमका साथमा उम्मेदवार बनेका छन्, जसमा आईटी विशेषज्ञ, चार्टर्ड एकाउन्टेन्ट (CA), डाक्टर, नर्स लगायत विभिन्न व्यवसायिक पृष्ठभूमिका युवा र अनुभवी व्यक्तिहरू सामेल छन्।
उनको भनाइमा, “हामी सबै एक साझा उद्देश्यका लागि जुटेका छौं — नेपाली समुदायको हितमा सशक्त रूपमा काम गर्ने। हाम्रो टिमका प्रत्येक सदस्यसँग समाज परिवर्तन गर्ने जोश, योजना र क्षमता छ। तपाईंहरूले विश्वास गर्न सक्नुहुन्छ, हामी निराश बनाउँदैनौं।”
यसैबीच, दुबै प्यानलबीच सहमतिमा महिला उम्मेदवारहरूलाई निर्विरोध चयन गराउने निर्णय भएको छ। सहमतिअनुसार निम्न पदहरूमा महिला उम्मेदवारलाई समर्थन गरिनेछ:
-
महिला उपाध्यक्ष
-
महिला संयोजक
-
एक महिला कार्यसमिति सदस्य
सापकोटाले अन्त्यमा सम्पूर्ण आयरल्याण्डवासी नेपालीहरूप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा फेरि साथ, समर्थन र विश्वासको अपेक्षा गरेका छन्।