गैरआवासीय नेपाली संघ १२ औं महाधिवेशन तयारीमा, ७२ हजारभन्दा बढी सदस्यता दर्ता

everest kitchen

काठमाडौं।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमिति वैधानिक रूपमा क्रियाशील रहेको र सर्वोच्च अदालतबाट समेत वैधानिक मान्यता प्राप्त भइसकेको संघले जनाएको छ। पछिल्ला समय देखिएका विवादबारे संघले पुनः स्पष्ट पार्दै आगामी १२ औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।

संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार हाल Membership Information System (MIS) मार्फत सदस्यता वितरण भइरहेको छ, जसअन्तर्गत हालसम्म ७२ हजार सदस्य दर्ता भइसकेका छन् भने करिब ५ हजारको सदस्यता स्वीकृति प्रक्रिया बाँकी छ। जापानबाट मात्रै १८ हजार र अष्ट्रेलियाबाट साढे १५ हजार सदस्य रहेका छन्।

प्रवक्ता पन्तले जानकारी गराएअनुसार, हाल १५ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी देशहरूमा अधिवेशनको तयारी भइरहेको छ। संघको विधानअनुसार जुलाई १ देखि ३१ भित्रमा सबै एनसीसी अधिवेशन सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान छ। यिनै अधिवेशनहरू आगामी १२ औं महाधिवेशनका लागि प्रतिनिधि चयनको आधार हुनेछन्।

महाधिवेशनका लागि तयारीस्वरूप विभिन्न समितिहरू गठन गरिसकिएको छ। अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ भने रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति र भिम उदासको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ।

संघको हालको कार्यकालमा प्रमुख उपलब्धिहरूमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पहल, People of Nepali Origins (PNOs) को पहिचान सुनिश्चितता, ९ वटा कानूनी संशोधन र एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड स्थापना प्रक्रिया रहेको छ। सो फण्ड १० अर्ब रुपैयाँबाट सुरु भई ५० अर्ब पुर्‍याउने लक्ष्य रहेको छ।

मानवीय तथा परोपकारी कार्यहरूमा योगदान
संघले हालसम्म चार करोड रुपैयाँभन्दा बढी रकम विभिन्न परोपकारी र मानवीय सहयोगमा खर्च गरेको छ। २०८१ सालको बाढी–पहिरो, जाजरकोट भूकम्प, सुनसरी र भोजपुर आगलागी पीडितहरूलाई सहयोग गरिएको छ। साथै स्वास्थ्य क्षेत्रमा अक्सिजन प्लान्ट र ब्लड बस प्रदान, शिक्षा क्षेत्रमा शैक्षिक सामग्री वितरण र खेलकुद प्रवर्द्धनमा पनि सहयोग पुर्‍याइएको संघले जनाएको छ।

वैदेशिक रोजगार र आप्रवासन क्षेत्रमा सक्रियता
संघले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धार, सामाजिक सुरक्षा र सुरक्षित आप्रवासनको विषयमा पनि उल्लेखनीय कार्य गर्दै आएको जनाएको छ। युक्रेनमा अलपत्र परेका नेपाली श्रमिकको उद्धारदेखि लिएर, श्रम सम्बन्धी नीतिगत सुधारका लागि सरकारले गरेको सहकार्य संघको प्रयासबाट सम्भव भएको जनाइएको छ।

संघ र सरकारबीच सहकार्य बलियो
डा. बद्री केसीलाई लगानी प्रवर्द्धन समिति र वैदेशिक रोजगार बोर्डको आमन्त्रित सदस्य चयन गरिएपछि संघ र सरकारबीचको सहकार्य थप मजबुत भएको प्रवक्ता पन्तले बताएका छन्।

कानुनी अडचन हट्दै, निर्वाचनमा कुनै बाधा छैन
पूर्व अध्यक्ष शेष घलेसँग सम्बन्धित विवादित मुद्दाबारे बोल्दै प्रवक्ताले सर्वोच्च अदालतको पछिल्लो आदेश (असार ५ गते) पश्चात सो मुद्दामा पुनरावेदनको अनुमति पाएको र अब अक्टोबरमा हुन गइरहेको निर्वाचनमा कुनै कानुनी अडचन नरहेको स्पष्ट पारे।

प्रवक्ता पन्तले आगामी १२ औं महाधिवेशन तथा विश्व सम्मेलनलाई सफल बनाउन सबैको सहयोग, समन्वय र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै, संघले भविष्यमा पनि समस्त नेपालीको हित, विकास र प्रवासी नेपालीहरूबीचको सेतुका रूपमा कार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।