क्वालालम्पुर, मलेसिया –
मलेसियामा नेपाली समुदायबीच दिनानुदिन बढ्दो फुटबलको लोकप्रियता, पछिल्ला खेलहरूमा देखिएको उत्साहजनक सहभागिता र समग्र खेल क्षेत्रको दिगो विकासको उद्देश्यसहित नेपाल फुटबल एशोसिएसन मलेसियाको औपचारिक गठन गरिएको छ।
आइतबार, क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलको सभाहलमा आयोजित विशेष भेलाले फुटबलप्रेमी नेपालीहरूलाई एकीकृत गर्दै संस्थागत स्वरूप प्रदान गर्ने उद्देश्यले एशोसिएसन गठन गरेको हो। कार्यक्रमको अध्यक्षता हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले गर्नुभएको थियो।
नवगठित कार्यसमिति:
भेलामा सहभागी २५ सदस्यहरूको सर्वसम्मत निर्णयअनुसार गठन गरिएको कार्यसमिति निम्नानुसार छ:
-
अध्यक्ष: होम प्रसाद भट्ट (सन्तोष)
-
वरिष्ठ उपाध्यक्ष: भक्त ओड
-
उपाध्यक्ष: वसन्त राउत
-
सचिव: शिव सुवेदी
-
कोषाध्यक्ष: सन्तोष अधिकारी
-
सदस्यहरू: तुला नेम्वाङ, बिन्दु दर्लामी, खगेन्द्र तमाङ, शिव खड्का, नवराज श्रेष्ठ, दीपक कार्की, कृष्ण केसी, विष्णु चौधरी, राजकुमार कुमाल, निश्चल मगर
सभाले नवगठित कार्यसमितिलाई भविष्यको योजना, दिगो संरचना र उत्तरदायित्व स्पष्ट पार्नका लागि दुई महिनाभित्र एशोसिएसनको विधान मस्यौदा तयार गरी अर्को भेलामा छलफलका लागि पेस गर्नुपर्ने निर्णय गरेको छ।
हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले नयाँ समितिलाई बधाई दिँदै भने, “खेल र खेलाडीलाई सर्वोपरि राख्दै समितिले उदाहरणीय काम गर्ने विश्वास लिएको छु। आगामी दुई वर्षको बैठक खर्चमा मेरो व्यक्तिगत सहयोग रहनेछ।”
RTFC क्लबका अध्यक्ष राजु तमाङले एशोसिएसनप्रति सहयोगको प्रतिबद्धता जनाउँदै भने, “फुटबलको सफलताको लागि अपनत्व महत्त्वपूर्ण छ। म मेरो तर्फबाट जहाँ, जस्तै आवश्यक पर्ला, तयार छु।”
सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै सचिव शिव सुवेदीले खेलकुदमा हुन सक्ने जोखिमको बीमा (Insurance) अवधारणाबारे अध्ययन भइरहेको जानकारी दिनुभयो। उहाँले एशोसिएसनलाई सबैको साझा संस्था बनाउने उद्देश्यले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।
नेपाल फुटबल एशोसिएसन मलेसिया नेपाली समुदायमा फुटबलको लोकप्रियतालाई संस्थागत गर्दै, खेलाडीहरूलाई सुरक्षित र संरचित वातावरणमा प्रतिभा देखाउन अवसर दिने ऐतिहासिक प्रयासको सुरुवातको रूपमा हेरिएको छ।