क्यानबेरा, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको ACT राज्य समन्वय परिषद् (SCC) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कोषाध्यक्ष पदमा गौतम बेलबासेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
समाज, संस्कृति, र समुदाय केन्द्रित विभिन्न पहलहरूमा लामो समयदेखि सक्रिय रहँदै आएका बेलबासेले क्यानबेरामा नेपाली समुदायभित्र पारदर्शिता, एकता, र सहकार्यलाई सुदृढ बनाउने अठोटसाथ आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
उनले भने, “मैले सँधै समावेशी सोच, सकारात्मक उर्जा, र जिम्मेवारीको गहिरो भावनाका साथ समुदायको सेवा गर्दै आएको छु। यही भावनाका साथ म NRNA भित्र संस्थागत पारदर्शिता र सार्थक सहकार्य प्रवर्द्धन गर्न प्रतिबद्ध छु।”
उनका प्रमुख उद्देश्य र प्रतिबद्धताहरू:
-
कोषाध्यक्षका रूपमा आर्थिक पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता।
-
सबै नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने समावेशी कार्यक्रमहरूमा सहयोग र प्रवर्द्धन।
-
SCC ACT कार्यसमितिसँग सहकार्य गर्दै संगठित, प्रभावकारी र व्यावहारिक कार्यक्रमहरू लागू गर्ने।
-
उत्तरदायी आर्थिक अभ्यासमार्फत विश्वास र संस्थागत दिगोपनाको प्रवर्द्धन।
-
कार्यकालभर समयमै वित्तीय विवरण सार्वजनिक गर्दै खुलापन र सहभागिता सुनिश्चित गर्ने।
गौतम बेलबासेले भनिरहेका छन्: “म यो चुनावमा पदका लागि होइन, सेवा गर्ने अवसरका लागि तपाईंको समर्थनको अपेक्षा राख्छु — इमानदारी, समर्पण, र पारदर्शिताका साथ समुदायको सेवामा समर्पित रहने वाचा गर्दछु।”