नारीको आवाज बिचलनमा : उम्मेदवारी नदर्ता प्रकरणमा बिमु लामाको सार्वजनिक अभिव्यक्ति

everest kitchen

पर्थ, पश्चिम अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल २०२५–२७ का लागि सदस्यता र उम्मेदवारी प्रक्रिया तीव्र हुँदै गर्दा, नारी निकुञ्ज तर्फबाट विगतमा संयोजक पदको आकांक्षी रहेकी बिमु लामा (बिमला) ले आफ्नो सार्वजनिक धारणा सार्वजनिक गरेकी छन्।

विगतको सहमति, अहिलेको अनपेक्षित बहिष्करण

बिमु लामाले उल्लेख गरेअनुसार, अघिल्लो कार्यकाल २०२३–२५ का लागि आफ्नो उम्मेदवारीलाई सबैको आपसी सहमतिको आधारमा अर्को चरणमा सुरक्षीत गरिने वचनका आधारमा छोडिएको थियो। तर, यसपटक २०२५–२७ कार्यकालका लागि उम्मेदवारीको स्पष्ट इच्छाशक्ति रहेको अवस्थामा पनि, उनको नाम उम्मेदवारी सूचीमा दर्ता नगरिएको, न प्रकाशन गरिएको, र अनपेक्षित रूपमा बन्चित गरिएको दाबी गरिएको छ।

“उम्मेदवारीको कुरा त टाढाको भयो, अहिले त मलाई मत दिने अधिकार पनि रहने कि नरहने भन्ने अन्योल छ,” — बिमु लामा

प्रश्नहरू उठ्दैछन्

बिमु लामाले यो घटनालाई केवल व्यक्तिगत हैसियतमा नभई, सङ्घीय प्रक्रियाको पारदर्शिता, जवाफदेहिता र नारी सहभागितामा चरम लापरवाहीको रुपमा देखेकी छन्। उनले यथोचित न्यायको माग गर्दै यसबारे को–को जिम्मेवार छन् भन्ने प्रश्न उठाएकी छन्।

“यदि म योग्य ठहरिएँ भने मतदान गर्न पाउँछु कि पाउँदिन? वा कुनै निर्णय लिने प्रक्रियामा मेरो सहभागिता रहने कि नरहने? यस्ता अन्योलका बीचमा मेरो निष्क्रिय गरिने अधिकारिक निर्णयको जवाफदेही कोसँग सोध्ने?”

उम्मेदवारहरूलाई बधाई, समाजलाई आग्रह

पारदर्शी र उत्तरदायी नेतृत्वप्रति प्रतिवद्धता व्यक्त गर्दै उनले अन्य उम्मेदवारहरूलाई शुभकामना दिँदै समाजप्रति आह्वान गरेकी छन्: “नेपाली समाजका नयाँ र पुराना उम्मेदवारहरूप्रति हार्दिक शुभकामना! कृपया आफ्नो अमूल्य मत खेर नफाल्नुस्, जिम्मेवार र सक्षम नेतृत्व छान्नुस्।”

सेवामा निरन्तरता

उम्मेदवारी प्रक्रियाबाट बञ्चित गरिए पनि बिमु लामाले आफ्नो सामाजिक उत्तरदायित्वमा कुनै कमी नल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। “संस्था होस् वा समाज, म जहाँ भए पनि, सधैं सेवामा तत्पर रहने छु।”

बिमु लामाको यो सार्वजनिक अभिव्यक्ति केवल व्यक्तिगत पीडा मात्र नभई, संस्था भित्रका प्रणालीगत कमजोरी र सुधारको माग हो। नारी सहभागिता, न्याय र पारदर्शिताको सवालमा यो आवाजले थप बहस र आत्मसमीक्षा निम्त्याउनेछ भन्ने आशा गरिएको छ।

लेख: हिमाल टाईम्स
📬 यदि तपाईंको पनि यस्तै अनुभव, धारणा वा प्रतिक्रिया छ भने, कृपया हामीलाई पठाउन नबिर्सनुहोस्।