श्रद्धा सिंह थापाद्धारा एनआरएनए नर्वेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

“यो केवल उम्मेदवारी होइन, समुदायप्रतिको गहिरो प्रतिबद्धता हो” — श्रद्धा सिंह थापा

ओस्लो, नर्वे | १७ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) नर्वेको आगामी कार्यकाल (२०२५–२०२७) को लागि श्रद्धा सिंह थापाले अध्यक्ष पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेकी छन्। सानै उमेरमा नर्वे आएकी श्रद्धा अहिले युवापुस्ता, महिलाहरू र समावेशी नेतृत्वको सशक्त आवाजका रूपमा अगाडि आएकी छन्।

१४ वर्षको उमेरमा नर्वे आएकी श्रद्धाले पछिल्ला ११ वर्षमा नेपाली समुदायसँग निकट सम्पर्क राख्दै सामाजिक योगदान पुर्‍याउँदै आएकी छन्। उम्मेदवारी घोषणा गर्दै उनले भनिन्, “अब समय आएको छ — एनआरएनएलाई अझ समावेशी, पारदर्शी र समुदाय–केन्द्रित बनाउने।”

प्रमुख एजेन्डा र दृष्टिकोण

श्रद्धा सिंह थापाले आफ्नो अभियानलाई पाँच ठूला प्राथमिकतामा केन्द्रित गर्ने बताएकी छन्:

  1. पहिलो पुस्ताका नेपालीहरूलाई नर्वेजियन भाषा, सेवामा पहुँच, र एकीकरणका लागि सहायता

  2. दोस्रो र तेस्रो पुस्ताका लागि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण

  3. कन्सुलर सेवा र व्यवहारिक सहयोगलाई सबैका लागि सरल, सहज र समान बनाउने

  4. समावेशी नेतृत्व: विविध समुदायका आवाजहरूलाई प्रतिनिधित्व

  5. महिला, युवापुस्ता र उद्यमशील नेपालीहरूको सशक्तिकरण

उनको भनाइमा, “म नयाँ दृष्टिकोण लिएर आएको छु — परम्पराको मूल्य र नयाँ पुस्ताको जोशलाई जोड्दै एनआरएनएलाई पुस्ताबीचको पुल बनाउने समय अब आएको छ।”

समुदायप्रतिको प्रतिबद्धता

श्रद्धाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पर, एक साझा अभियानको रूपमा हेरेकी छन्। “यो केवल उम्मेदवारी होइन, यो हाम्रो नेपाली समुदायप्रतिको प्रतिबद्धता हो,” भन्दै उनले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग सुझाव, विश्वास र साथको अपिल गरेकी छन्।

समावेशी नेतृत्वका लागि सशक्त आवाज

एनआरएनए नर्वेमा सक्रिय नयाँ पुस्ताको सहभागितालाई महत्वपूर्ण मानिँदै आएको सन्दर्भमा श्रद्धा सिंह थापाको उम्मेदवारी नयाँ पुस्ताको प्रतिनिधित्व र महिला नेतृत्वको सशक्त संकेतका रूपमा हेरिएको छ।

उनको उम्मेदवारीले एनआरएनए नर्वेमा युवा दृष्टिकोण र सामुदायिक समावेशिताको बहसलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।