सिड्नी, अष्ट्रेलिया – १७ जुलाई २०२५
गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन यही आउँदो जुलाई २६ तारिखका दिन हुन गइरहेको छ। सो निर्वाचनअन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को २०२५–२०२७ कार्यकालका लागि सदस्य पदमा विरेन्द्र श्रेष्ठले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै आफूले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको जानकारी गराउँदै अष्ट्रेलियाबासी सम्पूर्ण नेपाली समुदायसँग समर्थन, साथ र सहयोगको अपेक्षा गरेका छन्।
उनले सन्देशमा लेखेका छन्, “तपाईंहरूको साथ, सहयोग र हौसलाले हाम्रो समुदायको हकहितका लागि अझ धेरै काम गर्न मौका मिल्नेछ भन्ने विश्वास लिएको छु।”
सन् २०१० देखि नेपाली समुदायमा सक्रिय श्रेष्ठ सिड्नीस्थित St. George Nepalese Football Club मा विभिन्न जिम्मेवारी सम्हाल्दै अध्यक्ष पदसम्म पुगेका थिए। उनले क्लबको संस्था निर्माण, प्रगति तथा फुटबल मार्फत समुदायको एकता र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। साथै, श्रेष्ठले सन् २०१३–२०१५ मा NRNA अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद (NCC) सदस्यका रूपमा समेत कार्य गरिसकेका छन्।
श्रेष्ठले उम्मेदवारी घोषणासँगै आफ्नो कार्यदिशा पनि सार्वजनिक गरेका छन्। उनले अष्ट्रेलियामा रहेका नेपाली आप्रवासीहरूका साथै विश्वभर छरिएर रहेका नेपालीहरूको आवाजलाई सुन्ने र समस्याको समाधानमा अग्रसर रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनको प्रमुख एजेन्डा निम्नानुसार छन्:
-
अष्ट्रेलियामा रहेका तथा विश्वभर छरिएका नेपाली आप्रवासीको हितमा काम गर्ने,
-
NRNA अष्ट्रेलियालाई बलियो र पारदर्शी संस्था बनाउने,
-
संस्थागत विकासमा दृढ भएर लाग्ने,
-
आपतकालीन अवस्थामा नेपाली समुदायलाई तत्कालन सहयोग पुर्याउने।
उनले अन्त्यमा सबै नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूलाई मतदानमार्फत आफूलाई जिताइ आगामी कार्यकालमा सेवा गर्ने अवसर दिन सादर अनुरोध समेत गरेका छन्।