अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) एनआरएनए अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि एनटी महिला राज्य संयोजक पदमा सुजना के.सी.ले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छिन्।
गत दुई वर्ष (२०२३–२०२५) को अवधिमा उनी महिला राज्य उप-संयोजकको रूपमा कार्यरत रहँदै समुदायमा सक्रिय भूमिका निभाउँदै आएकी थिइन्। सो समयमा उनले महिलाको सशक्तिकरणमा योगदान पुर्याउनुका साथै नेपाली संस्कृति झल्काउने विविध कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेकी छन्।
उनले भनिन्, “महिला उप-समन्वयकको रूपमा मैले हाम्रो संस्कृति जगेर्ना गर्ने कार्यक्रमहरू—जस्तै नेपाल महोत्सव, तीज कार्यक्रम, महिला दिवस विशेष कार्यक्रम—मार्फत समुदायलाई जोड्ने प्रयास गरेँ। अब, अझ व्यापक रूपमा सेवा गर्ने संकल्पसहित महिला राज्य समन्वयकको पदमा उम्मेदवारी दिएकी छु।”
उनका प्रमुख एजेन्डा यस प्रकार छन्:
-
महिलालाई नेतृत्व र सीप विकासमार्फत सशक्त बनाउने,
-
समावेशी सांस्कृतिक, शैक्षिक र सामाजिक गतिविधिहरू मार्फत समुदायको सहभागिता बढाउने,
-
नयाँ पुस्ताको संलग्नता र नेतृत्व विकासमा जोड दिने,
-
सबै काममा पारदर्शिता, सहकार्य र जवाफदेहितालाई प्राथमिकता दिने।
सुजना के.सी.ले समुदायको एकता, समावेशिता र संस्कृति जगेर्नाका लागि सबैसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले भनिन्, “म नेतृत्व गर्न मात्र होइन, सुन्न, बुझ्न र मिलेर काम गर्न आएको हुँ। तपाईंहरूको विश्वास र साथले हामीले अझ समृद्ध र सशक्त NRNA निर्माण गर्न सक्छौं।”