पुनः फुट्यो एनआरएनए हङकङ

everest kitchen

हङकङ : प्रवासका नेपालीको हक, हित, सुरक्षा र सहयोगका लागि स्थापना भएको गैरआवासिय नेपाली संगठन (एनआरएनए) हङकङमा पुनः विभाजित बनेको छ। दशौं महाधिवेशनका लागि नयाँ कार्यसमिति चयनमा उम्मेदारीको दाबी गरेकाहरू नै दुई भागमा विभाजित भई अलगअलग कार्यसमिति सार्वजनिक गरेका छन्।

मूल एनआरएनए हङकङको दशौं महाधिवेशन जोर्डनस्थित इन्डिन क्लबमा आयोजना गर्दै निर्विरोध रूपमा अध्यक्ष अनु राई, उपाध्यक्ष सन्तोषकुमार गुरुङ, कविता गुरुङ, महासचिव इन्दर पुर्जा पुन, सचिव विश्वनाथ घिसिङ, कोषाध्यक्ष अर्जुन गौचन, महिला संयोजक सत्यावती गहतराज, युवा संयोजक मनोज गौतम, सदस्यहरू डु बहादुर गुरुङ, आईसीसी सदस्य डिल्लीराम विश्वकर्मा चयन भएका छन्।

उम्मेदारी घोषणा गरेका प्रतिद्वन्द्वीले पनि समानान्तर अर्को एनआरएनए गठन गरेका छन्। दशौं महावेशनमा अध्यक्षको प्रतिद्वन्द्वी जयन्ती गुरुङ (संगीता)को अध्यक्षतामा समानान्तर अर्को कार्यसमितिमा उपाध्यक्ष नरेन्द्रराज गुरुङ, महासचिव भविन लिम्बु, सचिव रामचन्द्र सेच्चुरी, कोषाध्यक्ष बिक्की थापा, महिला संयोजक सावित्रा क्षेत्री, सदस्यहरू विन्दु शर्मा, लक्ष्मी संयक लिम्बु, डुन्डीराज राई, रोशन लिम्बु, रविन तामाङ, राजकुमार थापा मगर, प्रवेश लिम्बु, विन्दु पुन छन्।

थप कार्यसमितीका सदस्यहरू चाँडै कार्यक्रमको आयोजना गरेर सार्वजनिक गर्ने अध्यक्ष जयन्तीले बताइन्। नेपालमा रहेको वैधानिक केन्द्रसँग कुरा गरी हङकङमा आएको पर्सनल डाटा प्रोटेक्सन एक्टअन्र्तगत सदस्यता वितरण प्रणालीमा हेरफेर गर्ने र कमिटीको अधिवेशन केन्द्रबाट पदाधिकारीको रोहबरमा चाँडै गराउने भन्ने मुख्य एजेन्डासहित समानान्तर एनआरएनए गठन भएको हो।

यसअघि पनि वर्तमान कार्यसमितिसँग असन्तुष्टि जनाउँदै पूर्णबहादुर राना मगरको अध्यक्षतामा १४ सदस्ययी ग्लोबल नन्रेसिडेन्स नेप्लिज एसोसीएसन (जीएनआरएनए) गठन भएको थियो। २२ देश, क्षेत्रहरूमा राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपाली डायस्पोरालाई एउटै छातामुनि ल्याउँदै विभिन्न प्रकारका कार्यक्रमहरू ल्याउने भन्दै विभाजित भएको जीएनआरएनएले, कार्यसमितिको गठनपश्चात् कुनै पनि कार्यक्रम, सदस्यता वितरण, परियोजनालगायत सार्वजनिक गरेको छैन।