मलेसियामा अलपत्र दुई नेपालीको उद्धार : दूतावासको सक्रिय पहलमा सुरक्षित स्वदेश फिर्ती

everest kitchen

क्वालालम्पुर, जुलाई २५ –
नेपाली दूतावास, क्वालालम्पुरले आज दुई जना नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्काउन सफल भएको छ। नेपाल एयरलाइन्सको नियमित उडानमार्फत श्री अभिषेक प्रसाद यादव र श्री शंकर बुढाथोकी आज विहान स्वदेश फर्किएका हुन्।

अवैधानिक रूपमा कार्यरत रहँदै आएका श्री अभिषेक प्रसाद यादव सेलाङ्गरस्थित एक खुद्रा पसलमा न्यून ज्यालामा काम गर्दै आएका थिए। काम गर्ने स्थानको खराब वातावरण र साहूको दुर्व्यवहारका कारण उनी कार्यस्थलबाट भाग्न बाध्य भए पनि साहूले उनलाई अन्यत्र काम गर्न अनुमति दिएका थिएनन्।

श्री यादवले दूतावासमा २३ जुलाई २०२५ मा पुगेर सहयोगको याचना गरेका थिए। दूतावासका अधिकारीहरूले तत्काल क्वालालम्पुर अध्यागमन विभागसँग समन्वय गरी चेक आउट मेमो (exit memo) प्राप्त गर्न आवश्यक प्रक्रिया अघि बढाएका थिए। उनलाई नेपाल फर्कन विमान टिकटको व्यवस्था गरिदिने श्री अनुराग प्रसाद यादवलाई दूतावासले विशेष आभार प्रकट गरेको छ।

त्यस्तैगरी, अवैधानिक रूपमा मलेसियामा कार्यरत अर्का नेपाली नागरिक श्री शंकर बुढाथोकी एक भोजनालयमा काम गर्ने क्रममा एक विदेशी कामदारको आक्रमणबाट घाइते भएका थिए। चक्कु प्रहारबाट गम्भीर चोट लागेका बुढाथोकीलाई शाहलम अस्पतालमा भर्ना गरिएको थियो।

उपचारपश्चात डिस्चार्ज भएपछि उनले पनि २३ जुलाईमा दूतावासमा सम्पर्क गरेका थिए। दूतावासले उनलाई नि:शुल्क एकतर्फी यात्रा अनुमति पत्र (One Way Travel Document) जारी गरी अध्यागमन कार्यालयसँग चेक आउट मेमोको प्रक्रिया पूरा गराएको हो।

श्री बुढाथोकीको उपचार शुल्क मिनाहा गरिदिएकोमा दूतावासले शाहलम अस्पतालप्रति कृतज्ञता व्यक्त गरेको छ। साथै नेपाल फर्कनको लागि हवाई टिकट उपलब्ध गराइ सहयोग गर्ने दाताप्रति पनि धन्यवाद प्रकट गरिएको छ।

नेपाली दूतावासले मलेसियामा समस्यामा परेका नेपालीहरूप्रति निरन्तर मानवियताका आधारमा सहकार्य र उद्धार जारी राख्ने प्रतिबद्धता दोहोर्याएको छ।