क्वालालम्पुर, साउन ९ –
काजाङमा सवारी दुर्घटनामा परी अस्पताल भर्ना गरिएका नेपाली नागरिक श्री धनसिंह शेर्मा आज मिति २०८२ साल साउन ९ गते नेपाल फर्किन सफल भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका भाई मनबहादुर शेर्मासँग भावनात्मक पुनर्मिलन भएको छ।
शेर्मा मिति २०८२ असार १६ गते मलेसियाको काजाङ क्षेत्रमा दुर्घटनामा परेका थिए। त्यसपश्चात उनलाई काजाङ अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले १८ दिन उपचार गराएका थिए।
अवैधानिक अवस्थामा रहेका शेर्मालाई डिस्चार्जपछि उनका आफन्त श्री पदम सिंह लिम्बूले थप हेरचाहका लागि क्रिस्टिना केयर होममा भर्ना गराएका थिए।
नेपाल राजदूतावास, क्वालालम्पुरले श्री शेर्माको उद्धार प्रक्रियालाई तिव्रता दिँदै निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र (One Way Travel Document) प्रदान गर्नुका साथै नेपाल एयरलाइन्सको हवाई टिकटको व्यवस्था गरिदिएको थियो।
२०८२ साउन ७ गते दूतावासका अधिकारीहरूले शेर्मालाई क्वालालम्पुर अध्यागमन विभागमा लगी चेक आउट मेमो प्राप्त गराउन आवश्यक सहयोग गरेका थिए।
श्री धनसिंह शेर्मालाई उद्धार गर्न प्रत्यक्ष सहयोग पुर्याउनु हुने श्री पदम सिंह लिम्बूप्रति दूतावासले विशेष आभार प्रकट गरेको छ। साथै, उपचार, समन्वय र स्वदेश फिर्ती प्रक्रियामा सहयोग गर्ने प्रवासी नेपाली समन्वय समिति, मलेसिया तथा नेपालस्थित सम्बन्धित पदाधिकारीहरूप्रति समेत हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
नेपाल फर्किएका शेर्मा अहिले आफ्ना परिवारको साथमा सुरक्षित छन्, जसले विदेशमा आपतमा परेका नेपाली नागरिकको उद्धारमा दूतावास, नेपाली समुदाय र परिवारबीचको सहकार्यको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।