एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य संयोजक पदमा उषा किरण बारिया पोखरेल विजयी

everest kitchen

सिड्नी, अष्ट्रेलिया –
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य संयोजक पदमा उषा किरण बारिया पोखरेल विजयी भएकी छन्। एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको लागि शनिबार सम्पन्न निर्वाचनमा उनले १२९१ मत प्राप्त गर्दै यस पदमा निर्वाचित भएकी हुन्।

टिम ‘एकता’ बाट उम्मेदवारी दिएकी पोखरेल लामो समयदेखि समाजसेवा, महिला सशक्तिकरण, र घरेलु हिंसाविरुद्धका अभियानहरूमा सक्रिय रहिआएकी छन्। नेपाली समुदायभित्र उनको सक्रियता, समर्पण र नेतृत्व क्षमताको उच्च मूल्यांकन हुँदै आएको छ।

महिला नेतृत्वलाई सशक्त बनाउने अठोट

निर्वाचनपश्चात पोखरेलले प्रतिक्रिया दिँदै भनिन्, “एनआरएनएको नेतृत्वमा महिला सहभागिता अझ सशक्त हुनुपर्छ। म महिला आवाजलाई अझ बुलन्द बनाउने छु र समावेशी नेतृत्व स्थापित गर्न निरन्तर प्रयत्न गर्नेछु।”

उनको जितलाई नेपाली महिला सशक्तिकरणको दिशामा नयाँ उपलब्धिका रूपमा लिइएको छ। विशेषगरी प्रवासी नेपाली महिलाहरूको मुद्दा उठाउँदै नेतृत्वमा महिलाको उपस्थिति मजबुत बनाउन उनले खेलेको भूमिकालाई सराहना गरिएको छ।

समुदायमा लोकप्रिय छवि

उषा किरण बारिया पोखरेलले अघिल्लो कार्यकालहरूमा पनि विभिन्न सामाजिक, सांस्कृतिक र मानवीय सेवाका क्षेत्रहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्। घरेलु हिंसाविरुद्धको प्रत्येक अभियानमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेकी उनले राज्य संयोजकका रूपमा समुदायभित्र अझ प्रभावकारी काम गर्ने आशा गरिएको छ।