सुदृढ नेतृत्व र समावेशी सहभागिताको प्रतिबद्धता
पर्थ –
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया (WA) राज्य समिति अन्तर्गत राज्य संयोजक पदमा हरिबंश संजेल विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै उल्लेखनीय मतसहित विजय हासिल गरेका हुन्।
नेपाली समुदायबीच समाजसेवी, नेतृत्वदायी र दूरदृष्टि सम्पन्न व्यक्तित्वको रूपमा चिनिँदै आएका संजेल लामो समयदेखि पश्चिम अष्ट्रेलियामा सामाजिक, सांस्कृतिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आएका छन्।
निर्वाचनपश्चात प्रतिक्रिया दिँदै संजेलले भने:“म यो पदलाई प्रतिष्ठाको रूपमा होइन, जिम्मेवारीको रूपमा लिन्छु। एनआरएनएलाई सबैको पहुँचमा पु¥याउँदै, समावेशी र पारदर्शी नेतृत्वका माध्यमबाट प्रवासी नेपालीहरूको सेवा गर्ने मेरो अठोट छ।”
उनले आगामी कार्यकालमा सामुदायिक एकता, सीप विकास, महिला तथा युवा सहभागिता, र प्रवासी अधिकारका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने योजना अघि सारेका छन्।
हरिबंश संजेलको जितलाई स्थायित्व, सेवा र दिगो नेतृत्वको संकेतका रूपमा लिइएको छ। पश्चिम अष्ट्रेलियास्थित नेपाली समुदायले उनलाई सक्षम नेतृत्वका रूपमा स्वागत गर्दै संस्थालाई अझ व्यवस्थित र सक्रिय बनाउने अपेक्षा व्यक्त गरेका छन्।