समाजसेवामार्फत अग्रसर नेतृत्वको संकेत
पर्थ –
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया (WA) राज्य समिति अन्तर्गत राज्य समन्वय परिषद (State Coordination Council – SCC) सदस्य पदमा समानता ढकाल विजयी भएकी छन्।
शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मत प्राप्त गर्दै आगामी दुई वर्षका लागि परिषद सदस्यको जिम्मेवारी प्राप्त गरेकी हुन्।
समानता ढकाल पछिल्लो समय पश्चिम अष्ट्रेलियामा नेपाली समुदायबीच सामाजिक सेवा, महिला सहभागिता, सांस्कृतिक गतिविधि, र आप्रवासी नेपालीहरूको हकहितका सवालमा निरन्तर सक्रिय रहिआएकी छिन्। उनको सो पदमा चयनलाई समर्पित, समावेशी र अग्रसर नेतृत्वको मान्यताका रूपमा लिइएको छ।
विजयपश्चात प्रतिक्रिया दिँदै ढकालले भनिन्:“प्रवासी नेपालीहरूको हित, सामाजिक एकता र संस्थागत पारदर्शिताको पक्षमा म सधैं समर्पित रहनेछु। यो जिम्मेवारीले अझ कर्तव्यपरायण बन्न प्रेरणा दिएको छ।”
उनले युवामैत्री कार्यक्रम, महिला सशक्तिकरण, र आप्रवासी नेपालीको पहुँच विस्तारका पहलहरू अघि बढाउने प्रतिबद्धता जनाएकी छन्।