२७ जुलाई २०२५, मेलबर्न ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको विक्टोरिया (VIC) राज्य समितिको निर्वाचनमा महादेव धानुकको नेतृत्वमा रहेको टिम विजयी भएको छ। समुदायमा सेवा, एकता, र उत्तरदायित्वका भावना लिएर अघि बढेको यो टिमले उल्लेखनीय मतान्तरसहित जित हासिल गरेको हो।
धनुकको नेतृत्वमा विजयी टिमले विद्यार्थी सहायता, जरुरतमन्दहरूको सहयोग, नेपाली भाषा-संस्कृतिको प्रवर्द्धन, र नेपाली समुदायलाई एकताबद्ध गरी सही मार्गदर्शन दिने प्रतिवद्धता व्यक्त गरेको छ।
विजयपछिको सम्बोधनमा महादेव धानुकले भने, “हामी सबै नेपालीहरूको साझा मञ्च एनआरएनएलाई राजनीतिभन्दा माथि राखेर एकताको सूत्र बनाउँदै अगाडि बढ्नेछौं। नेपाल–अष्ट्रेलिया सम्बन्धलाई मजबुत पार्दै शिक्षा, स्वास्थ्य, र साना विकास योजनाहरूमा योगदान पुर्याउने हाम्रो प्राथमिकता हुनेछ।”
समुदायका विभिन्न प्रतिनिधिहरूले पनि नयाँ नेतृत्वलाई बधाई दिंदै निष्पक्ष, समावेशी, र सक्रिय कार्यशैलीप्रति अपेक्षा व्यक्त गरेका छन्।
समुदायमैत्री, निष्पक्ष, र एकतामूलक नेतृत्वले एनआरएनए अष्ट्रेलियामा सकारात्मक ऊर्जा र गतिशीलता ल्याउने विश्वास गरिएको छ।