सञ्जय मिश्रा
रौतहट, साउन ११ ।
पवित्रसाउनमहिनामा भगवान शिवलाई चढाउन जल लिनआएका दुईजना भारतीययुवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ।
डुबेर बेपत्ता भएका एक युवकको शव घटना भएको तीन दिनपछि आज फेला परेको छ।
भारतको बिहार राज्य अन्तर्गत ग्राम घुरघुरा घरभएका २४ वर्षीय नितिश कुमार राउत (उर्फ संजिव कुमार) सहित ९ गते बेलुका ७ बजे बागमती नदीमा नुहाइसकेपछि जल भरिरहेको अवस्थामा अचानक बगाएर दुईजना बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले तत्कालै ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका इन्स्पेक्टर सोनु कुमार रामको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरको संयुक्त टोली खोजतलास गर्न खटिएको थियो।
लगातार खोजी जारी राखेको प्रहरीले आईतवार चन्द्रपुर नगरपालिका–१ गोपालकुटीस्थित बागमती सिचाइ योजनाको मुख्य नहर (हेड वर्क्स ब्यारेज) को पश्चिम साइडको ‘एच’ नम्बर गेटमा मृतकको शव फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
यसअघी बेपत्ता भएका दुईजना मध्ये कान्छा बिहार राज्यको सीतामढी जिल्लाको ग्राम जमुआहा १ पंचायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव शनिवार झोलुङ्गे पुल नजिकै, घटनास्थलदेखि करिब १५० मिटर दक्षिण तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता रायले बताएका छन्।
प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई सरकारी अस्पताल चन्द्रपुरमा राखेको छ। मृतकको सनाखत मृतकको बुबाले गरेका हुन्।
यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सावन महिनामा मधेशका जिल्लाहरुका साथै सीमावर्ती गाउँका हजारौं भारतीयहरु नुनथरघाट बागमती नदीबाट जल लिएर शिव मन्दिरहरुमा चढाउने गर्दछन्।