क्वालालम्पुर, मलेसिया – १७ साउन २०८२ (अगस्ट २, २०२५)
मलेसियाको केडाहस्थित LYPO Metal Sdn. Bhd. कम्पनीमा कार्यरत नेपाली कामदार श्री चन्द्र बहादुर राम्जाली मगरलाई मिति २०८२ साउन ९ गते नेपाल एयरलाइन्सको सहयोगमा स्वदेश फर्काइएको छ।
अचानक अचेत भई कोमामा पुगेका श्री मगरको दुई महिनासम्म मलेसियामा उपचार गरिएको थियो। यसबीचमा नेपाली राजदूतावास, क्वालालम्पुर, कम्पनी प्रतिनिधिहरू तथा परिवारका सदस्यबीच विभिन्न चरणमा छलफल भएको थियो। ती छलफलहरूकै परिणामस्वरूप, कम्पनीले परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुका साथै नेपाल फिर्तीका लागि नेपाल एयरलाइन्सको ६ वटा सिट खर्च पनि व्यहोरेको जानकारी दूतावासले दिएको छ।
राजदूतावासले एक विज्ञप्ति जारी गर्दै LYPO Metal Sdn. Bhd. को कर्मचारी कल्याणप्रतिको प्रतिबद्धता र नेपाल एयरलाइन्सको सहकार्यप्रति धन्यवाद व्यक्त गरेको छ। साथै, श्री प्रवेन्द्र कुमार गुप्ता नेतृत्वको प्राविधिक टोली र डा. विश्वराज दवाडी नेतृत्वको चिकित्सक टोलीप्रति पनि आभार व्यक्त गरिएको छ, जसले श्री मगरको सुरक्षित घर फिर्तीमा महत्वपूर्ण भूमिका खेलेका थिए।
यस सफल उद्धार कार्यले प्रवासी नेपाली कामदारहरूको सुरक्षामा दूतावास, कम्पनी, र नेपाली संस्थाहरूबीचको समन्वय कत्तिको प्रभावकारी हुन सक्छ भन्ने कुराको उदाहरण प्रस्तुत गरेको छ।