ह्वासङ, दक्षिण कोरिया — दक्षिण कोरियाको ह्वासङस्थित एक प्लास्टिक कम्पनीमा कार्यरत लमजुङका युवा दिवस तामाङको काम गर्ने क्रममा मेसिनमा च्यापिएर निधन भएको दुःखद खबर प्राप्त भएको छ।
स्व. तामाङको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै, गहिरो श्रद्धाञ्जलि अर्पण गरिनुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
घटनापछि घटनाको सत्य तथ्य बुझ्न गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया की अध्यक्ष पार्वती तामाङ, उपाध्यक्ष निरन्जन भण्डारी, युवा संयोजक टेक बहादुर बोहरा (विकास), राजकुमार स्याङ्तान लगायतको टोली ह्वासङस्थित कम्पनीमै पुगेर निरीक्षण गरेको जानकारी प्राप्त भएको छ।
यसका साथै, सोही समयमा छङ्जुमा पनि अर्को नेपालीको मृत्यु भएको खबर आएको छ, र त्यससम्बन्धी विवरणमा संलग्न संघसंस्थाहरूबीच सहकार्य भइरहेको जनाइएको छ।
घटनालाई लिएर दक्षिण कोरियास्थित नेपाली राजदूतावास, EPS/MTU, र अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय तथा छलफल भइरहेको NRNA प्रतिनिधिहरूले बताएका छन्।
NRNA दक्षिण कोरियाले सबै नेपालीहरूलाई स्मरण गराएको छ: “हामी सबै परदेशमा छौं। कृपया सुरक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै होशपूर्वक काम गर्नुहोस्। यस्तो दुर्घटनाबाट बच्न विशेष सावधानी अपनाउनु अत्यन्त आवश्यक छ।”
हिमाल टाईम्स परिवारको तर्फबाट दिवंगत आत्माको चिर शान्तिको कामना।