दक्षिण कोरियामा उपचाररत नेपाली श्रमिक कमल चौधरीको मृत्यु

everest kitchen

सिओल, दक्षिण कोरिया – दक्षिण कोरियामा उपचाररत एक नेपाली श्रमिकको हिजो दिउँसो मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुर बेल्हाका स्थायी बासिन्दा ३२ वर्षीय कमल चौधरीको बुसानस्थित छोसन युनिभर्सिटी अस्पतालमा निधन भएको हो।

चौधरी केही महिनाअघि इपिएस (EPS) मार्फत कृषिक्षेत्रमा काम गर्दै आएका थिए। तर, उनले पुरानो काम छोडेर नयाँ रोजगारीको खोजीमा सेल्टरमा बस्दै आएका थिए। त्यही क्रममा एकाएक बेहोस भएपछि स्थानीय प्रहरीले एम्बुलेन्समार्फत उनलाई अस्पताल पुर्‍याएको थियो।

चिकित्सकहरूले चौधरीको टाउकोमा रगत जम्ने (Brain Hemorrhage) समस्या देखिएको बताएका थिए। डेढ महिनादेखि उपचाररत रहे पनि स्वास्थ्यमा सुधार नआएपछि अन्ततः उनले ज्यान गुमाएका हुन्।

चौधरीको निधनप्रति कोरियामा रहेका नेपाली समुदायले गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, उनको शव नेपाल पठाउने प्रक्रिया अगाडि बढाउने पहल भइरहेको जनाइएको छ।