सरकारलाई प्रभु साहको प्रश्न: हुलाकी राजमार्गलाई किन विभेद गरियो ?

everest kitchen

काठमाडौं, ५ भदौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर नलिनको सरकारसमक्ष माग गरेका छन् । सरकारले हुलाकी राजमार्ग निर्माणको लागि ढिलासुस्ती गरेको भन्दै साहले यस्तो आक्रोश पोखेका हुन् ।

प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकको विशेष समयमा बोल्दै साहले १८ वर्षअघि सुरू भएको हुलाकी राजमार्ग अलपत्र पारिएको भनेर सरकारसँग असन्तोष प्रकट गरे । उनले भने,‘सम्माननीय सभामुख महोदय, हुलाकी सडकअन्तर्गत पर्ने बागमती खोलाको पुल कमला खोलाको पुल, कन्कार्ई खोलाको पुलहरु वर्षौसम्म अलपत्र छन् । तीन वर्षमा बनाउनुपर्ने पुल, आज १५ वर्ष पुग्दा पनि किन नबनाएको भनेर सरकारसँग सोध्न चाहन्छु । हुलाकी सडठक राष्ट्रिय गौरवको आयोजना हो । यो सडकमा झण्डै करोडौं मान्छे जोडिएका छन्, ठूलो जनसंख्यालाई लाभ दिने यो महत्वपूर्ण सडकमा किन विभेद गरियो ? नेताजीहरूको क्षेत्रमा सडक चकाचौद भैराख्दा झण्डै १८ वर्षअघि सुरु भएको यो सडक किन अलपत्र छ ?’

साहले यस सडकअन्तर्गत कयौं पुलहरुमा अझै ठेक्का नभएको आरोप लगाए । उनले थपे,‘ठेक्का भएका पुलहरु १५ वर्षसम्म, बाग्मती नदीको पुल त आजभन्दा १६ वर्षअघि शिलान्यास भएको हो । तर, अहिलेसम्म अलपत्र छ । कमला नदीको पुल पनि झण्डै १४ वर्ष भयो, कन्काई नदीको पुल झण्डै १२ वर्ष भयो। तीन वर्षको लागि ठेक्का सम्झौता भएका पुल किन बनेनन् ? ठेकेदारलाई किन कारबाही भएन ? नेताजीहरुको यसमा कुनै स्वार्थ छैन, मन्त्रीहरुको यसमा लेनदेन छैन भने ती ठेकेदारलाई किन कारबाही भएन ? ठेकेदारले समयमा काम नगर्दा उसको धरौटी किन तानिएन ? किन उसलाई सरकारले दण् िदण्डित गर्न सकेन भन्ने प्रश्न उठ्छ ।’ राष्ट्रिय गौरवका आयोजनाका सवालमा ठेकेदारसँगको मिलेमतो अन्त्य गर्नपनि सरकारलाई साहको सुझाव छ ।

समयमा ठेकेदारले काम नगरेपछि उसलाई पेनाल्टी लिनुपर्नेमा उल्टै ती निर्माण कम्पनीले बिनाशर्त म्याद थप पाएको पनि साहको आरोप छ । उनले जनताले अहिले भोगिरहेको सास्तीलाई अन्त्य गर्नपनि सरकारलाई सुझाव दिए ।

उनले हुलाकी राजमार्गको निर्माणको सवालमा खुलेआम विभेद गरिएको उनको आरोप छ । उनले भने,‘अरू राजमार्गहरुमा जसरी बहुवर्षीयको ठेक्का हुन्छ, हुलाकी सडकले बहुवर्षीयाको किन ठेक्का अनुमति पाउँदैन? अरु राजमार्गसँगै हुलाकीकोपनि अर्थ मन्त्रालयमा फाईल जान्छ, तर हुलाकीको फिर्ता आउँछ । योभन्दा अर्को विभेद के हुन्छ? यदि हुलाकी सडक बनाउनु छैन भने प्रष्ट भनिदिनुहोस–हुलाकी सडक  हामी बनाउँदैनौं भनिदिनुहोस, प्रष्ट भनिदिनुभयो भने जनतापनि आश मार्छन् । हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर लिने अधिकार सरकारसँग नभएको उनको भनाई छ ।

साहले नारायणी नहरको पनि उस्तै हालत रहेको भन्दै चलाउन नचाहेको हो भने बन्द गर्न सुझाव दिएका छन् । रौतहटको लालबकैयाको मर्टेवा पुल, झाँझ नदीको पुल पिपरिया र जुगलियामा वर्षौदेखि अलपत्र परेको साहको गुनासो छ । यी पुलको बारेम के कस्तो प्रगति भएको छ भनेर सम्बन्धित मन्त्रीलाई सदनमा जानकारी गराउनपनि साहले सभामुखको ध्यानाकार्षण गराए ।