पर्थ, अष्ट्रेलिया – अगस्ट २४, २०२५
मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (Madhesi Community Association of WA) को आयोजनामा तीज महोत्सव तथा दर भोज २०२५ भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक उत्सवका रूपमा चिनिने तीजलाई प्रवासी भूमिमा पनि उत्साह, एकता र परम्पराको गौरवका साथ मनाइएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि संस्थाका अध्यक्ष श्री सुनिल सहनीले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै लेखे: “म अत्यन्तै आभारी र गर्वित छु कि हामीले तीज महोत्सव २०२५ लाई यति भव्य, सभ्य र ऐतिहासिक बनायौं। यो केवल खानपिन, गीत र नृत्यको कार्यक्रम मात्र थिएन; यो हाम्रो संस्कृतिप्रतिको सम्मान, एकआपसको एकता र समुदायको आत्मीयतासँग जोडिएको विशेष क्षण थियो।“
कार्यक्रममा महिलाहरूले परम्परागत पोशाकमा सजिएर तीज गीतमा रमाएका थिए भने पुरुषहरूको उपस्थिति र सहयोगले समुदायको सामूहिकतामा अझ मजबूती थपेको थियो।
सांस्कृतिक प्रस्तुति, सामूहिक दर भोज, नृत्य प्रतियोगिता, र बालबालिकाका कार्यक्रमहरूले महोत्सवलाई अझ रंगीन बनाएको थियो।
सहनीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्वयंसेवक, सांगीतिक कलाकार, सहभागीहरू र प्रायोजकहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्दै भने:”तपाईंहरूको माया, समय र ऊर्जा बिना यस्तो ऐतिहासिक कार्यक्रम सम्भव हुने थिएन। तपाईंहरूप्रति मेरो हार्दिक आभार व्यक्त गर्दछु।“
मधेसी कम्युनिटी एसोसिएसनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ, जसले नेपाली संस्कृति, भाषा र परम्परालाई प्रवासमा जगेर्ना गर्न ठूलो भूमिका खेल्नेछ।