जनजाति महासंघद्वारा एमाले विधान संशोधनमा दियाे सुझाव, केन्द्रिय समितिकाे निर्णयकाे स्वागत

everest kitchen

काठमाडौं, १० भदौं ।  लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै विभिन्न संशोधन तथा सुझाव पेश गरेको छ ।

महासंघले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्तावलाई समर्थन गर्दै स्वागत गरेको छ ।

महासंघले पार्टी र जनसंगठनका सबै तहका कमिटीमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न माग गरेको छ । साथै, अल्पसंख्यक समुदायको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गर्न ‘एक जाति एक प्रतिनिधि’ को ग्यारेन्टी विधानमै उल्लेख गर्नुपर्ने सुझाव दिएको छ ।

जनसंगठनको केन्द्रीय सदस्य संख्या बढीमा १९९ सम्म कायम गर्नुपर्ने, एघारौं महाधिवेशनमा महासंघ सम्बद्ध जातीय घटक संघहरुले न्यूनतम ३ र अधिकतम ५ जना प्रतिनिधि पठाउन पाउने व्यवस्था गर्नुपर्ने माग पनि महासंघले राखेको छ ।

त्यस्तै, पार्टी सदस्यतालाई आधारभूत सदस्य र संगठित सदस्य गरी दुई प्रकारमा वर्गीकरण गर्नुपर्ने र जनसंगठनमार्फत सदस्यता वितरण गर्ने प्रावधान ल्याउनुपर्ने सुझाव महासंघले प्रस्तुत गरेको छ ।

महासंघले विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य भएको उल्लेख गर्दै एमालेको नेतृत्वमा मात्र स्थिर सरकार सम्भव हुने दाबी गरेको छ । पार्टीभित्र बहुध्रुवीय शक्ति केन्द्र निर्माण रोक्न विधानमै कडा प्रावधान ल्याउनुपर्ने र सांगठनिक अराजकता नियन्त्रण गर्ने स्पष्ट व्यवस्था गर्नुपर्ने सुझाव पनि राखिएको छ ।

महासंघले राजनीतिक प्रतिवेदनमा सामाजिक उत्पीडन विरुद्ध एमालेको ऐतिहासिक भूमिका स्पष्ट उल्लेख गर्नुपर्नेमा जोड दिएको छ । साथै, सरकारले गर्ने राजनीतिक नियुक्तिहरुमा सरोकारवाला जनसंगठनको सिफारिसलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि प्रतिवेदनका लागि पेस गरेको छ ।