क्वालालम्पुर, मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन आगामी अगस्ट ३१ मा हुने तय भएपछि नेतृत्व चयनको प्रक्रिया तिव्र रुपमा अघि बढेको छ। सोही अवसरमा समाजसेवामा लामो समयदेखि क्रियाशील रहेका युवा समाजसेवी मातृका खतिवडाले २०२५–२०२७ कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
दशकभन्दा बढी समयदेखि मलेसियामा बसोबास गर्दै आएका खतिवडा विभिन्न सामाजिक संघ–संस्थासँग आबद्ध हुँदै नेपाली श्रमिकहरूको समस्या समाधान, सहयोग तथा हक–हितका लागि सक्रिय रहदै आएका छन्। वैदेशिक रोजगारीमा आउने कठिनाइहरूलाई नजिकबाट बुझेका उनले समस्याको समाधानमा निरन्तर अग्रसरता देखाउँदै आएका छन्।
युवालाई “संगठनको मेरुदण्ड”का रूपमा व्याख्या गर्ने खतिवडाले, मलेसियामा रहेका नेपाली युवाको क्षमता, सीप र ऊर्जालाई सामाजिक तथा संस्थागत विकासमा समाहित गराउने अठोट व्यक्त गरेका छन्। उनले भने, “युवाबीच एकता र सहयोगको भावना विकास नगरेसम्म कुनै पनि संस्थागत लक्ष्य पुरा हुन सक्दैन।” आगामी कार्यकालमा युवाको सशक्तिकरण, सीप अभिवृद्धि र नेतृत्व विकासलाई प्रमुख प्राथमिकतामा राख्ने उनको घोषणा छ।
सहयोगी स्वभाव, मिलनसार व्यवहार र समाजसेवाप्रतिको गहिरो लगावका कारण खतिवडाको उम्मेदवारीलाई समुदायले गंभीर र सशक्त प्रतिस्पर्धीका रूपमा लिएको छ। उनका समर्थकहरूले भनेका छन्, “मातृका खतिवडा श्रमिक र युवाको वास्तविक आवाज बोकेका उम्मेदवार हुन्।” उनीहरूको विश्वास छ कि उनको नेतृत्वमा संगठन थप समावेशी, उत्तरदायी र युवामैत्री बन्नेछ।