क्वालालम्पुर, मलेसिया – प्रवासी नेपाली समुदायको अग्रणी संस्था हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आगामी १४ सेप्टेम्बर २०२५, आइतबारका दिन भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास नजिकैको भवन) मा हुनेछ।
संस्थाले जारी गरेको विज्ञप्तिअनुसार, मलेसियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग पुर्याउन हार्दिक निमन्त्रणा गरिएको छ। साथै यहाँ कार्यरत सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति अपेक्षित गरिएको छ।
संस्थाका पदाधिकारीहरूका अनुसार, यस अधिवेशनको उद्देश्य समुदायबीचको एकता मजबुत पार्नु, सांस्कृतिक संरक्षण तथा आपसी सहयोग प्रवर्द्धन गर्नु रहेको छ। कार्यक्रमलाई विशेष बनाउन सम्मान समारोह, सांस्कृतिक प्रस्तुति, तथा संस्थाको भावी योजनाहरू सम्बन्धी महत्वपूर्ण छलफलसमेत गरिनेछ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली दूतावास मलेसियाका महामहिम डा. नेत्र प्रसाद तिम्सिनाको उपस्थिति रहनेछ। साथै नेपाली तथा मैथिली कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।