काठमाडौं, १२ भदौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ ।
बिहीबार सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल जम्मा तीन रनले पराजित हुन बिबश भयो । बिहीबारै यसअघि सम्पन्न पहिलो खेलमा पनि नेपाल तीन विकेटले पराजित भएको थियो ।
साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सबै विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि रुपेशकुमार सिंहले ३७, लोकेश बमले ३२, भीम सार्कीले २९, कुशल भुर्तेलले ११ र आरिफ शेखले १० रन बनाए ।
साउथ अस्ट्रेलियाका लागि क्याम्पबेल थम्पसनले चार तथा टम मेन्जिएस, टिम ओक्ली र नोह म्याकफडेनले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो ।
साउथ अस्ट्रेलियाका लागि रायन किंगले ३४, ह्यारी मनेन्टी र ड्यानियल ड्रियुले समान २९, डाउट्जी होगनबोइजिमले १४, थोमस ब्राउनले ब्राउनले अविजित १२, ज्याक विन्टरले १२ र कप्तान म्याकेन्जी हार्वेले ११ रन बनाए ।
नेपालका लागि रुपेश सिंह, करण केसी र शाहब आलमले समान दुई तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिए ।