लिस्बोन – पोर्चुगलमा रोजगारीको अवसर खोज्दै पुगेका नेपालीहरू पछिल्ला दिनमा विभिन्न प्रकारका शोषणको शिकार भएको गम्भीर उजुरीहरू गैर–आवासीय नेपाली संघ (एनआरएनए) मा दर्ता भएका छन्।
उजुरीअनुसार नवप्रवेशी नेपालीहरूलाई काममा लगाइए पनि तोकिएको पारिश्रमिक नदिने, कामको पैसा माग्दा धम्की दिने र AIMA को appointment आउनु केही दिन वा महिना अगाडि कामबाट निकाल्ने जस्ता गतिविधि भइरहेको छ।
मुख्यतः पोर्चुगलको श्रम कानुनको उल्लङ्घन गर्दै कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने र उनीहरूको अधिकार हनन गर्ने कार्य भइरहेको उजुरीमा उल्लेख गरिएको छ। यस्ता शोषणकारी गतिविधि दर्ता नै नभएको “अवैध एनआरएनए” का नाममा सञ्चालित समूहमार्फत भइरहेको आरोप दर्ता भएको छ। ती समूहहरू केहि पूर्व अध्यक्ष तथा पदाधिकारीले व्यक्तिगत स्वार्थका लागि खडा गरेको भन्दै उजुरीकर्ताहरूले गम्भीर प्रश्न उठाएका छन्।
एनआरएनएले श्रम शोषणविरुद्ध सम्बन्धित निकायसँग तत्काल पहल गर्नुपर्ने माग गर्दै पोर्चुगलमा रहेका नेपाली श्रमिकहरूको अधिकार सुरक्षित गर्न ध्यानाकर्षण गराएको छ।