पर्थ (अष्ट्रेलिया) – सुदुरपश्चिमेली नेपालीहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्व गौरा यस वर्ष पनि वेस्टर्न अष्ट्रेलियामा उल्लासपूर्वक मनाइने भएको छ। सुदुरपश्चिम नेपाली समाज वेस्टर्न अष्ट्रेलियाले यही सेप्टेम्बर ७, आइतवार का दिन विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ।
कार्यक्रम Karrinyup Community Center, Davenport St, Karrinyup WA 6018 मा आयोजना हुने छ। प्रवेश सबैका लागि निशुल्क राखिएको छ। नेपाली कला–संस्कृति र मौलिक परम्परालाई प्रवासमा समेत जीवित राख्ने उद्देश्यका साथ आयोजना हुने कार्यक्रममा प्रसिद्ध लोकगायक चक्र बमले विशेष प्रस्तुति दिनेछन्।
गौरा पर्वको सांस्कृतिक महत्व
गौरा पर्व विशेष गरी सुदुरपश्चिम नेपालका महिलाहरूले श्रद्धा, भक्ति र उल्लासका साथ मनाउने पर्व हो। भगवान शिव र पार्वतीको विवाह सम्झनाका साथै परिवारको सुख–शान्ति, दीर्घायु र समृद्धिको कामना गर्दै महिलाले व्रत बस्ने परम्परा यस पर्वमा छ। विशेष गरी “डिउडा”, “धुलि खेल” र सामूहिक नृत्य–गानासहितको उत्सव यस पर्वको विशेषता मानिन्छ।
प्रवासमा बस्ने नेपालीहरूले यस पर्वलाई आफ्नो पहिचानसँग जोडेर मात्र नभई नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने माध्यमका रूपमा पनि मनाउने गरेका छन्।
प्रवासमा एकताको प्रतीक
सुदुरपश्चिम नेपाली समाज वेस्टर्न अष्ट्रेलियाले यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीबीच एकता, आपसी सम्बन्ध र पहिचानलाई मजबुत पार्ने विश्वास लिएको छ। समाजले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई एकै ठाउँमा ल्याउने, नयाँ पुस्तामा संस्कृति परिचय गराउने र सुदुरपश्चिमेली परम्परालाई विश्वव्यापी रूपमा चिनाउने लक्ष्य राखेको जनाएको छ।
थप जानकारीका लागि सम्पर्क व्यक्ति:
किशोर कुँवर – 0430 938 801
रोबिन बिक्रम थापा – 0421 111 308
सन्तोष भट्ट – 0426 838 418