मेलबर्न (अष्ट्रेलिया), – मेलबर्नमा पहिलोपटक नेवा गुठी मेलबर्न द्वारा आयोजित इन्द्र जात्रा (येन्या पुन्ही) ले यहाँको नेपाली समुदायलाई आफ्नै मातृभूमिको साँस्कृतिक आनन्द र भावनामा डुबायो। अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी) मा आयोजित यस भव्य कार्यक्रममा लगभग ६ हजार नेपालीहरूको सहभागिता देखियो, जसले यो ऐतिहासिक क्षणलाई प्रत्यक्ष अनुभव गरे।
इन्द्र जात्रा, काठमाडौंको परम्परागत उत्सवको जीवन्त झलक थियो। सांस्कृतिक पोशाकमा सजिएका बालबालिकादेखि वृद्धवृद्धासम्मको उत्साहपूर्ण सहभागिता यो जात्रालाई काठमाडौंको सडक जस्तो रंगीन र जीवित बनाएको थियो। अनुहारमा प्रकट भएको हर्ष र गर्वले भनेको थियो, “हामी जहाँ भए पनि हाम्रो संस्कृतिलाई जिउँदै राख्छौं।”
कार्यक्रमको प्रमुख आकर्षण भनेको गणेश, भैरव र जीवित देवी कुमारीको रथयात्रा थियो। धिमेको तालमा ढोल बज्दा सहभागीहरूको उत्साह चरममा पुगेको थियो। यो विशेष रथयात्रामा अष्ट्रेलियामा जन्मेका युवा–युवतीहरू गर्वका साथ सहभागी भएका थिए, जसले कार्यक्रमको सामाजिक र सांस्कृतिक महत्त्वलाई अझ प्रगाढ बनाएको थियो।
सांस्कृतिक कार्यक्रमहरू जस्तै लाखे नाच र पुलुकिसी नाच प्रस्तुत गर्दा अतिथिहरू—मन्त्री, सांसद र अन्य उच्च अधिकारीहरू— पनि रमाइलो गर्दै उत्साहित बने। उनीहरूको बीचमा फोटो र भिडियो खिच्ने उत्साह देखेर यो पर्व केवल नेपालीहरूको मात्र होइन, मेलबर्नका बहुसांस्कृतिक समुदायको साझा उत्सव बनेको प्रतीत भयो।
सम्बन्धित परिकारहरूको प्रदर्शनी पनि यो कार्यक्रमको प्रमुख आकर्षण थियो। काठमाडौंको ‘समय बजी’ परिकारको स्वाद लिन चाहनेहरूको लामो लाइनले नेपाली खानाका परिकारहरूको लोकप्रियता र आकर्षणलाई प्रमाणित गर्यो। मन्त्री र सांसदहरूले पनि यी स्वादिष्ट परिकारहरूको चाखमा रमाउँदै नेपाली भान्साको प्रशंसा गरेका थिए। यसका साथै, नेपाली कला र हस्तकला प्रदर्शनीले मेलबर्नको बहुसांस्कृतिक समाजलाई नेपाली संस्कृतिमा रंगाउने काम गर्यो।
कार्यक्रममा प्रमुख अतिथिहरूको रूपमा भिक्टोरियाका नेपाली वाणिज्य दूत निराजन गौली, बहुसांस्कृतिक मामिलाका मन्त्री इन्ग्रिड स्टिट, सांसद जोश बुल, सांसद क्याथलिन म्याथ्यूज-वार्ड, विपक्षी दलका उपनेता इभान मुलहोल्यान्ड, सांसद स्टिभ म्याक्गी, नेपाली आर्गनाइजेशन (न्याभ) का अध्यक्ष डा. याकिन्द्र तिमिल्सिना, र एनआरएनए भिक्टोरियाका उपाध्यक्ष शसिन्द्र गौतम उपस्थित थिए। अतिथिहरूले नेपाली समुदायको योगदानको प्रशंसा गर्दै आगामी वर्षहरूमा पनि यही साथ र समर्थन निरन्तर रहने प्रतिबद्धता जनाए।
इन्द्र जात्रालाई सफल बनाउन कार्यक्रम निर्देशक र सल्लाहकार रञ्जन वैद्य का नेतृत्वमा समन्वय कार्यहरू संचालन गरिएका थिए। कार्यक्रम समन्वयकर्ता माया सुवाल र सुशान्त डंगोल ले कार्यक्रमको आयोजनामा प्रभावकारी भूमिका निभाए। रथ निर्माण टोलीका पियुष र टिम ले रथको कलात्मक डिजाइन प्रस्तुत गरेर उत्सवलाई अझ आकर्षक बनाएका थिए।
सांस्कृतिक प्रस्तुतीमा कुमार को नेतृत्वमा नेपाली सांस्कृतिक टोलीले उत्कृष्ट नृत्य र संगीत प्रस्तुत गरे, जबकि छिस्कार महर्जन, अमन महर्जन र आर्यन मानन्धर ले बाजा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेले।
सुदीप मास्केको नेतृत्वमा ट्राफिक र सुरक्षा टोली १५ सय भन्दा बढी सवारी साधनलाई सम्हाल्न सफल भएको थियो। यसका साथै, स्वेच्छिक सहयोगी स्वयंसेवकहरूले कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
स्वास्थ्य र सुरक्षा टोलीमा तरनजित कौर र बीना डंगोल का साथ अन्य टोलीका सदस्यहरूले सहभागीहरूको सुरक्षा र स्वास्थ्यको ध्यान राखे। प्रचार र प्रसार टोलीका सुरेश महर्जन र सुरज प्रधान ले भिड व्यवस्थापनमा प्रमुख योगदान गरे।
ललिशा थापाले मञ्च र अतिथिको समन्वयको जिम्मेवारी लिएकी थिइन् भने राजेन्द्र सिंहले भिड व्यवस्थापन कार्यहरू सम्पादन गरे। आर्थिक जिम्मेवारी रजन मास्के र सुर्य महर्जन ले सम्हालेका थिए।
कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान पनि गरिएको थियो, जसको आयोजकहरूले भविष्यमा यो परंपरा निरन्तरता दिने घोषणा गरेका छन्। त्यस्तै, “बादालमुनी बाग्लुङ: A Story Beyond Pages” पुस्तक विमोचन पनि गरिएको थियो।