१४ सेप्टेम्बर २०२५, क्वालालम्पुर – तामाङ सेलो संगीतको क्षेत्रकी बरिष्ठ तथा सम्मानित गायिका स्व. ईन्दिरा गोले गुरुङको सम्झनामा नेपाल तामाङ घेदुङ मलेसियाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। क्वालालम्पुरस्थित रेस्टुरेन्ट मझेरी (नेपाल एमबिसी छेउ) मा आयोजित सो कार्यक्रममा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघीय परिषदका सदस्य मिलन दोङ तामाङले स्व. गोलेको निधनले तामाङ समाजले एक महान सांगीतिक धरोहर गुमाएको उल्लेख गर्दै गहिरो दुःख व्यक्त गरे। उनले गायिकाले तामाङ गीत–संगीतको माध्यमबाट जातीय पहिचान, जागरण र चेतनामा पुर्याएको योगदानको स्मरण गरे।
कार्यक्रममा विशिष्ट अतिथि राजु योन्जन तामाङ (सल्लाहकार, नेपाल तामाङ घेदुङ मलेसिया) अध्यक्ष विक्रम वाईबा तामाङ, महासचिव सविन लोप्चन तामाङ ,जोहोर क्षत्रिय अध्यक्ष मंगल तामाङ लगायत उपस्थित वक्ताहरूले पनि इन्दिरा गोले गुरुङको जीवन, सङ्घर्ष र प्रेरणादायी कार्यका बारेमा मन्तव्य राखेका थिए।कार्यक्रममा मौनधारण, श्रद्धासुमन अर्पण तथा फुल अर्पण श्रद्धाञ्जलीमार्फत स्व. गोलेप्रति सम्मान प्रकट गरिएको थियो।
कार्यक्रम आयोजक संस्था नेपाल तामाङ घेदुङ मलेसियाले यस प्रकारको कार्यक्रमले तामाङ सांस्कृतिक रचनाशीलता तथा कलाकारप्रतिको सम्मान झल्काउने विश्वास व्यक्त गरेको छ।