कटहरियामा १५० युवा बिधार्थीलाई मानसिक स्वास्थ्य तालिम

everest kitchen

सञ्जय मिश्रा
रौतहट, ३ असोज।
रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ।

हालै देशभर जेन जी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यो तालिमको आयोजना गरिएको हो।

तालिम नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा, लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थी युवाहरुलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको तालिम संयोजकहरूले बताएका छन्।

हालै भएको जेन जी आन्दोलनले देशभरका युवा–युवतीमा गहिरो प्रभाव पारेको छ। आन्दोलनका क्रममा हिंसा, तोडफोड, र सरकारी सम्पत्तिमा क्षति भएपछि विद्यार्थी तथा युवा समुदायमा असुरक्षा, निराशा र मानसिक दबाब बढेको बताइन्छ। यस्तो अवस्थामा स्थानीय तहबाटै मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउन गरिएको प्रयासलाई सहभागी विद्यार्थीहरूले स्वागत गरेका छन्।

विशेषज्ञहरूको भनाइमा, युवावस्थामै मानसिक स्वास्थ्यको महत्व बुझाइएन भने दीर्घकालीन असर समाजमा नकारात्मक देखिन सक्छ।

तालिममार्फत विद्यार्थीहरूले आत्मविश्वास बढाउने, सहकार्य गर्ने, तथा संकट व्यवस्थापन गर्ने सीप प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ।
कटहरियामा भएको यो कार्यक्रम केवल एक दिने तालिम मात्र नभई आन्दोलनपछिको सामाजिक उपचारका रूपमा पनि लिइएको छ।

यसले युवामा मानसिक स्वास्थ्यप्रति जागरण ल्याउनुका साथै भविष्यमा जिम्मेवार नेतृत्व विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।