काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलामा भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीलाई १४ महिनापछि सफलतापूर्वक उद्धार गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सहजीकरणमा रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसीलाई उद्दार गरिएको हो।
सन् २०२४ को जुलाईमा युक्रेन पुगेका उनीहरू त्यहाँको राजधानी किएभस्थित इमिग्रेशन क्याम्पमा लामो समयदेखि अलपत्र परेका थिए। केही समयअघि एनआरएनए प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतसँग सम्पर्क गरी उद्दारको लागि आग्रह गरेपछि संघले निरन्तर पहल गरेको थियो।
उद्धारपछि उनीहरू युक्रेनबाट मल्दोवा हुँदै भारतको नयाँ दिल्ली र त्यहाँबाट शुक्रबार दिउँसो १ बजे काठमाडौं फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई स्वागत गर्न एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राउत र कनिष्ठ अधिकृत निरोज महर्जन उपस्थित थिए।
नेपाल फर्किएका शाह र केसीले कठिन परिस्थितिमा सहयोग, समन्वय र सहजीकरण उपलब्ध गराइदिएकोमा एनआरएनए र जर्मनीस्थित नेपाली दूतावासलाई धन्यवाद व्यक्त गरेका छन्।