क्वालालम्पुर, सेप्टेम्बर २६ – सेलेङगर इमिग्रेशन विभागले गए राति सुंगाई वे, पेतालिङ जया नजिकको एक स्थानमा छापा मार्दै ह्वाट्सएपमार्फत विदेशी महिलाहरूलाई “गेस्ट रिलेसन अफिसर (GRO)” को रूपमा उपलब्ध गराउने गिरोह पत्ता लगाएको छ।
विभागका अनुसार राति करिब १० बजेबाट सुरु भएको कारबाहीमा १८ देखि ४० वर्ष उमेर समूहका ३० जना विदेशी महिला पक्राउ परेका छन्। ती महिलाहरू लाओस, म्यानमार, भियतनाम र थाइल्यान्डका हुन्।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरू सामाजिक भ्रमण पासमार्फत पर्यटकको रूपमा मलेसिया प्रवेश गरेका थिए तर त्यसलाई दुरुपयोग गरिएको पाइयो।”
प्रारम्भिक अनुसन्धानले देखाए अनुसार ग्राहकहरूले ह्वाट्सएपमार्फत GRO बुकिङ गर्न सक्थे र त्यसपछि महिलाहरूलाई निर्दिष्ट स्थानमा पुर्याइन्थ्यो।
छापामारीका क्रममा केही महिलाहरूले आफैंलाई स्थानीय दाबी गर्दै अधिकारीलाई धोका दिन खोजेका थिए भने केहीले भाग्ने र लुक्ने प्रयास गरे पनि अन्ततः पक्राउ परे। घटनास्थलमा नियमित ग्राहक मानिएका केही व्यक्तिहरूबाट सामान्य उक्साहट बाहेक अन्य अप्रिय घटना भने भएको छैन।
विभागले थप जनाएको छ कि गिरोहले महिलाहरूलाई उनीहरूको देशबाट ल्याउन एजेन्ट प्रयोग गरेको र नजिकैको कन्डोमिनियममा बसोबासको व्यवस्था मिलाएको थियो। पक्राउ परेका महिलाहरूलाई इमिग्रेशन ऐन १९५९/६३, पासपोर्ट ऐन १९६६ र इमिग्रेशन नियमावली १९६३ अन्तर्गत हिरासतमा लिइएको छ।