रामेछाप । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
जिल्लामा बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद् जोखिम बढ्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो ।
निर्णयअनुसार असोज १७ गतेदेखि २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लका मुख्य र सहायक राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।
दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी भने सञ्चालन हुने छन् । वर्षाको मात्रा, क्षति वा अन्य जोखिमको अवस्था अनुसार सुरक्षा निकायले अन्य समयमा पनि आकस्मिक रूपमा राजमार्ग बन्द गर्न सक्ने निर्णय भएको छ ।
बैठकले नदी किनार र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न नजिकका सुरक्षा युनिटलाई निर्देशन दिएको छ । उद्धार तथा राहत कार्यका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखा, उद्योग वाणिज्य संघ, चौतारा अस्पतालसहितका सरोकारवाला संस्थाहरुलाई तयारी अवस्थामा रहन भनिएको छ ।
रेडक्रसका सबै शाखा तथा स्वयंसेवकलाई परिचालन गर्ने, उद्योग वाणिज्य संघले आवश्यक राहत सामग्री जुटाउने, चौतारा अस्पतालले आकस्मिक उपचारका लागि स्रोत साधन तयारी अवस्थामा राख्ने निर्णयसमेत बैठकले गरेको छ ।
जिल्लाभित्र सडक अवरुद्ध भएमा तत्कालै सडक डिभिजन, पूर्वाधार कार्यालय, स्थानीय तह तथा निजी क्षेत्रसँग समन्वय गरेर हेभी इक्विपमेन्ट परिचालन गरी सडक सुचारु गरिने व्यवस्था मिलाइनेछ । त्यस्तै, जिल्लामा उपलब्ध दमकल, एम्बुलेन्स र हेभी इक्विपमेन्ट चालकसहित २४ घण्टा तयारी अवस्थामा राख्ने पनि बैठकले निर्णय गरेको छ ।
सुरक्षा समिति बैठकले विपद् पूर्वतयारी र प्रतिकार्यमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै सबै स्थानीय तहलाई आपतकालीन कार्यसञ्चालन केन्द्र पूर्ण परिचालन गर्न, स्वयम्सेवक र स्रोत साधन तत्पर अवस्थामा राख्न र तत्काल उद्धार तथा राहतका लागि सक्रिय रहन अनुरोध गरेको छ ।
यस्तै, जरुरी परेमा उद्धारका लागि सिन्धु–सुकुटे क्षेत्रमा रहेका राफ्टिङ व्यवसायीहरूको बोट, कायाक र तिनका चालकसमेत सुरक्षा निकायसँग समन्वय गरी परिचालन गर्ने व्यवस्था मिलाइने भएको छ ।