काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् ।
नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली (म्क्ष्च्क्) अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् ।
कोशी प्रदेशमा पूर्ण अवरोध
संखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
भोटेखोला गाउँपालिका–४ स्थित बरुण खोलामा २०८२ जेठ ६ गतेदेखि नै अविरल वर्षाले राजमार्ग पूर्ण रूपमा बन्द छ ।
मकालु गाउँपालिका–३ एकुवामा पनि २०८२ भदौ १५ देखि सडक सुचारु हुन सकेको छैन । वर्षा नरोकिएसम्म राजमार्ग सञ्चालन असम्भव रहेको स्थानीय प्रशासनले जनाएको छ ।
बागमती प्रदेशमा जोखिम बढ्दो
रसुवा जिल्लामा चीनसँगको सीमाना जोड्ने पुलमा बाढीका कारण असार २४ देखि नै आवागमन ठप्प छ । यस्तै, गोसाइकुण्ड गाउँपालिका–२ को तीन स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ ।
सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा समेत पहिरोले राजमार्गहरू अवरुद्ध छन् ।
भोटेकोशी गाउँपालिका–४ चारकिलोमा गएको पहिरोले असोज १६ बिहान ८ः१५ बजेबाट सडक बन्द भएको हो ।
धुलिखेलदेखि दोलालघाटसम्मको खण्डमा पनि बि.पि. राजमार्ग र अरनिको राजमार्ग दुबै तर्फको सवारी साधन अनिश्चितकालका लागि रोकिएको छ ।
काठमाडौंबाट बाहिरिने मार्ग होल्ड
काठमाडौं चन्द्रागिरि नगरपालिका हुँदै धादिङ र मकवानपुरतर्फ जाने पृथ्वी लोकमार्ग तथा अरनिको राजमार्गमा समेत अहिले सवारी साधन रोकिएको छ । नागढुङ्गा, गोदाम र टखेल मार्ग हुँदै बाहिरिने सबै सवारी साधनहरू अर्को आदेश नआएसम्मका लागि होल्ड गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यात्रा नगर्न र वैकल्पिक मार्ग तथा जानकारीको लागि स्थानीय प्रशासन वा ट्राफिक कार्यालयको सम्पर्कमा रहन अनुरोध गरेको छ ।