काठमाडौं । शुक्रबार रातिदेखि देशको मध्य क्षेत्रमा सक्रिय बनेको मनसुन प्रणाली पूर्वतर्फ सर्दै जाँदा काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका प्रमुख बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार हाल बागमती, मधेस, गण्डकी र कोशी प्रदेशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘हाल काठमाडौंसहित बागमती, मधेस, गण्डकी प्रदेशको पूर्वी क्षेत्र, लुम्बिनी प्रदेशको पूर्वी क्षेत्र र कोशी प्रदेशको पूर्वी भागमा वर्षा भइरहेको छ । यो प्रणाली भोलिसम्म सक्रिय रहने देखिएको छ ।’
विशेषगरी बेलुका र रातिको समयमा वर्षा अझ तीव्र हुने अनुमान गरिएको छ, जसले गर्दा नदी–नाला र खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम उच्च रहेको उनले बताए ।
खासगरी काठमाडौं उपत्यका तथा वरपरका धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, मकवानपुर, चितवन र गोरखा जिल्ला उच्च जोखिममा छन् । त्यसैगरी, तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीजस्ता जिल्लाहरूमा पनि बाढीको जोखिम बढेको छ ।
उनले भने, ‘जिल्लागत रुपमा हेर्ने हो भने काठमाडौं उपत्यकाको क्षेत्र र वरिपरि धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र तल सिन्धुली, मकवानपुर, चितवन, गोरखा, यसैगरी तराईका जिल्लाहरुमा खासगरी बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाहरुमा चाँही अहिले बाढीको जोखिम उच्च देखिएको छ । यो प्रणाली पर्सिसम्म रहने भएकोले जोखिम उच्च छ ।’
‘नदीहरू खतराको तह नजिक पुगेका छन्,’ पराजुलीले भने, ‘बाढीका सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।’
मौसम विभागले सम्भावित बाढी, पहिरो र डुबानप्रति सतर्क रहन सर्वसाधारण, स्थानीय निकाय र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।
मनसुन प्रणाली अझै पर्सिसम्म सक्रिय रहने अनुमान गरिएकाले जोखिम यथावत् रहने विभागले जनाएको छ ।