जनकपुर । हिजो(शुक्रबार) रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण धनुषाका विभिन्न स्थानहरु जलमग्न भएका छन् ।
जनकपुरधाम, ढल्केवर, महेन्द्रनगरलगायत सहरी क्षेत्रसहित ग्रामिण भेगका गाउँहरु जलमग्न भएका छन् । बजारका अधिकांश पसलहरु बन्द छन् भने चहलपहल पनि सून्य देखिएको छ ।
घुम्न आएका पर्यटकहरुलाई असहज भएको देखिएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार तीन दिन लगातार पानी पर्ने उल्लेख रहेको छ ।
मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालय सपही, धनुषाले पनि सूचना जारी गरी तीन दिन सर्तक रह्न सम्पूर्ण प्रदेशवासीलाई आग्रह गरेको छ । निर्देशनालयले तीन दिन अतिआवश्यक बाहेक आवत जावत नगर्न समेत आग्रह गरेको छ ।
यता लगातारको अविरल वर्षालाई मध्येनजर गर्दै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र रहेका सबै निजी विद्यालयहरू आगामी असोज १९ र २० गते बन्द रहने जनाइएको छ ।
एनप्याब्सनका अध्यक्ष दिपक कुमार ठाकुर र प्याब्सनका अध्यक्ष रबिन्द्र कुमार चौधरीद्वारा जारी विज्ञप्तिमा विद्यार्थी तथा अभिभावकको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।