जेनजी सहीद तथा घाइतेहरुका नाममा मनपरी रकम संकलन, अर्थले गर्यो कडाइ

everest kitchen

काठमाडौं । अर्थ मन्त्रालयले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि क्षतिग्रस्त संरचना निर्माणका लागि खोलिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषकै खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।

सूचनामार्फत मन्त्रालयले स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैरसरकारी संघ संस्थामा जम्मा भइरहेको जानकारी पाएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘समानान्तर र अपारदर्शी ढंगले स्रोतको उपयोग हुन नदिन नेपाल सरकार कटिबद्ध छ’, मन्त्रालयले भनेको छ, ‘जेनजी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैरसरकारी संघसंस्थाहरुमा जम्मा भइरहेको जानकारी प्राप्त भएकाले यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘अतः स्वदेश तथा विदेशमा यस प्रयोजनाका लागि संकलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न गराउनुहुन अनुरोध छ’, सूचनामा भनिएको छ ।

सरकारले राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि भौतिक पूर्वाधार निर्माण कोष स्थापना गरी सहयोग आह्वान गरेको पनि स्मरण गराएको छ ।

कोषमा जम्मा हुने रकमबटै राहत र पुनर्निर्माणका साथै जेनजी सहीद तथा घाइते परिवारका प्रतिनिधिहरुसमेतको सहभागितामा समुचित प्रयोग गरिने मन्त्रालयले उल्लेख गरेको छ ।