प्रचार नहुँदा ओझेलमा पर्यो खिम्तिको जालपादेवी

everest kitchen

रामेछाप । दोलखाको सहरे स्थिति खिम्ति खोलाको किनारमा रहेको जालपादेवीको मन्दिर उचित प्रचार नहुँदा ओझेलमा परेको छ ।

दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला र तामाकोशी नदीको दोभानमा रहेको जालपादेवी मन्दिरलाई निक्कै पुरानो र शक्तिकी देवीको मन्दिर मानिन्छ ।

जालपादेवी मन्दिरमा विशेष पर्वहरूमा मेला लाग्ने गर्दछ । स्थानीयले मन्दिरमा पाठी र परेवाको बलि पूजा दिने गर्दछन् । मन्दिरमा चढाएको बलि यहीँ पकाएर खाइसक्नु पर्ने र महिनावारी भइसकेका महिलाहरूले यहाँको प्रसादी खानु हुँदैन भन्ने मान्यता रहेको छ ।

विगतमा यो मन्दिरमा ठुला ठुला मेला लाग्ने गरेको भए पनि एउटा मेलामा दुई समूह बिच झडप हुँदा एक जनाको ज्यान गएपछि मेला लाग्न छाडेको स्थानीय बताउँछन् । अहिले त्यस्ता मेलाहरूमा बत्ति बाल्ने मानिसहरू मात्र मन्दिरमा जाने गर्दछन् ।

मन्दिरको सुरक्षाको लागि खिम्ति खोलामा तटबन्ध लगाइएको छ । मन्दिरसम्म पुग्न बाटोमा सिँढी राखिएको छ । मन्दिर र कम्पाउण्ड पनि आकर्षक बनाइएको छ । तर यसको प्रचारमा भने सरोकारवालाको ध्यान पुगेको छैन । त्यसैले जालपादेवी स्थानीयको देवी जस्तो मात्रै भएको छ ।