जुम्लाको गुठिचौर गाउँपालिकामा खाना र इन्धनमा मात्रै ५६ लाख भन्दा बढी खर्

everest kitchen

मुगु । जुम्लाको गुठिचौर गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा खाना, इन्धन र विविध खर्चमा करिब ५६ लाख रुपैयाँ खर्च गरेको खुलासा भएको छ । पालिकाको आन्तरिक स्रोतको भन्दा कैयौँ गुणा बढी रकम अनुत्पादक खर्चमा प्रयोग गरिएको भन्दै स्थानीयवासीले त्यसको आलोचना गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा मात्र विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर गुठिचौर गाउँपालिकाले सो प्रावधान विपरीत खाना तथा विविधतर्फ २३ लाख ११ हजार रुपैयाँ खर्च गरेको तथ्यांक सार्वजनिक भएको हो ।

त्यस्तै, इन्धन खर्च पनि अत्यधिक रहेको पाइएको छ । पालिकाले कार्यालय प्रयोजनका लागि ३३ लाख ३५ हजार र अन्य प्रयोजनका लागि २२ हजार गरी ३३ लाख ५८ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ ।

तर खर्चका क्रममा कुन गाडी वा मोटरसाइकलका लागि इन्धन प्रयोग गरिएको हो भन्ने अभिलेख नराखिएको उल्लेख गरिएको छ । कार्यालयले इन्धन खर्चका विवरण अभिलेखमा राख्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यसको पालना नगरेको लेखा परीक्षण प्रतिवेदनमा जनाइएको छ । सोही कारण अनावश्यक खर्च नियन्त्रण गर्न र पारदर्शिता कायम गर्न सुझाव स्थानियहरुले दिएका छन् ।

यसैबीच, असुल बेरुजुका सम्बन्धमा गाउँपालिकाका कर्मचारीदेखि जनप्रतिनिधि सबैका कमीकमजोरी हुँदा रकम असुल्नुभन्दा तैँ चुप मै चुपको अवस्था छ । गाउँपालिकाका कर्मचारीदेखि जनप्रतिनिधिसम्मका कमजोरीका कारण बेरुजु रकम असुल नगरी लटकिएको अवस्था रहेको स्रोतले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाले भने असुल–बेरुजुबारे सम्बन्धित व्यक्तिहरूलाई रकम फिर्ता गर्न जानकारी दिइसकिएको बताइन् । उनले भनिन,“सबैलाई जानकारी गराएका छौँ, तर केहीले रकम फिर्ता गर्न ढिलाइ गरिरहेका छन् ।” स्थानीयहरूले सार्वजनिक स्रोतको दुरुपयोग तत्काल रोक्न र पालिकाको खर्च पारदर्शी बनाउन सरोकार निकायको ध्यानाकर्षण गराएका छन् ।