राजदूतहरू फिर्ता बोलाउने तयारीमा सरकार

everest kitchen

काठमाडौँ, ३० असोज — सरकार अघिल्लो सरकारले नियुक्त गरेका केही प्रमुख मुलुकहरूका राजदूतहरूलाई फिर्ता बोलाउने अन्तिम तयारीमा रहेको छ। उच्च स्रोतका अनुसार विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा कार्यरत थुप्रै राजदूतहरूको फिर्ती प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ।

फिर्ता बोलाउन लागिएका राजदूतहरूमा भारतका लागि नियुक्त डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल र रुसका लागि जंगबहादुर चौहान परेका छन्।

यस्तै, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, र साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल पनि फिर्ता बोलाउन लागिएको राजदूतहरूको सूचीमा परेको स्रोतले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, नयाँ सरकार आएपछि कूटनीतिक क्षेत्रमा देखिएको सक्रियता अनुकूल परिवर्तनका रूपमा यो निर्णय गर्न लागिएको हो। तर, अहिलेसम्म मन्त्रिपरिषद्बाट औपचारिक निर्णय भने भएको छैन।

सरकारको यस्तो कदमलाई कूटनीतिक वृत्तमा आन्तरिक पुनःसंरचना र राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।