काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले सबैको सोच र अवस्था बदलिएको भन्दै यसलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।
शनिबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आन्दोलनका नाममा शोषित, उत्पीडित, श्रमजीवि वर्गको बलिदान र उनीहरुको आकांक्षा वा भावनासँग खेलवाड गर्न नहुने बताएका हुन् ।
‘देशमा नयाँ एउटा परिवर्तन भएको छ । जेनजी आन्दोलनले सबैका सोचहरु बद्लिएका छन् । सबैका अवस्था बदलिएका छन् । नेपाली जनता मात्र होइन विश्वभर नै आन्दोलनका तरंग छ । यसलाई क्रान्तिकारीहरुले शोषित, उत्पिडित, श्रमजीवि वर्गको बलिदान र उनीहरुको आकांक्षा भावनासँग जोडेर लान चाहान्छ,’ उनले भने, ‘अर्काथरी मान्छे आजका परिवर्तनलाई उल्टाएर पछि फर्काउन चाहन्छन् । कति मान्छेहरु अल्मलिएर बसेका छन् । तपाई–हामी आफूलाई क्रान्तिकारी भन्नेहरुले जहिले पनि क्रान्तिकारी, बस्तुवादी, वैज्ञानिक दृष्टिकोण र सोचबाट यसलाई हेनुपर्ने हुन्छ ।’
नेता पुनले आफूहरु हेपिए जस्तो अनुभव भएको भन्दै आजको एजेण्डा अनुसार आफूलाई तयार गर्न प्रतिवद्ध रहँदा कसैको हेला भने नसहने बताए ।
‘आज सत्तामा भएका साथीहरु पनि परीक्षित हुन् । सम्माननीय प्रधानमन्त्री, प्रधानन्यायधीश भइसक्नुभएको, अर्थमन्त्री, उर्जामन्त्रीलगायत अरु मन्त्री सबै साथीहरु परीक्षित हुनुहुन्छ । हामी पनि परीक्षित हौं र हामी परीक्षामा फेरी पनि उत्रन तयार छौ । तर हामीलाई हेपेजस्तो देखिएको छ । सरकारलाई भनेका छौ हामी चुनावका लागि आजको एजेण्डा अनुसार आफूलाई तयार गर्न प्रतिवद्ध छौ तर कसैको हेला सहदैनौ,’ उनले भने ।