काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् ।
उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन् ।
बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे । ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन् । यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’ उनले भने ।
ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदाहुँदै पनि सरकार अपराधीहरूलाई जोगाउन लागिपरेको छ । गृहमन्त्रीको अभिव्यक्तिबाट सरकारको मनसाय प्रस्ट देखिन्छ ।’
उनले आन्दोलनका क्रममा अदालतका मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्तावेज, उद्योग–व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाइएको उल्लेख गर्दै यो घटनालाई ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको बताए ।
उनले भने, ‘पटक पटक मलाई तार्गेट गरिएको नै थियो । देशभरी नै एमाले पार्टी कार्यालयहरु जलाइएका छन्, एमाले पार्टी कार्यालयहरु जलाइएका छन् । यसको तयारी पहिलेदेखि नै थियो र खासगरि एमालेमाथि तार्गेट गरिएको थियो । खासगरी सरकारका निजी सम्पत्ति लुटपाट आगजनी गरिएका छन् जेनजीका नाममा । अदालतमा मुद्दाका मिसिलहरु जलाइएका छन् । सिंहदरबारमा ऐतिहासिक दस्तावेज मिसिलहरु जलाए । यो एउटा नेपालका विरुद्ध भएको भयानक षडयन्त्र थियो । उद्योग व्यवसायहरुका उद्योग कलकारखानाहरु जलाइएँ । व्यवसायहरु जलाए, केवलबार जलाए, अरु विभिन्न कुराहरु जलाए । हुँदाहुँदै स्कुलहरु जलाइँए ।
उनले आफ्नै निवासको सम्पत्ति श्रीमतीले पहिल्यै राज्यको नाममा दिइसकेको भन्दै यसबाट राज्यलाई क्षति पुगेको दाबी गरे ।
ओलीले आफूलाई अझै व्यक्तिगत रुपमा लक्षित गरिन सक्ने गम्भीर आशंका रहेको भन्दै राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएका छन् । ‘सरकार अझै जेनजीलाई उचालेर हामीलाई दबाब दिन खोजिरहेको छ,’ उनले भने ।
ओलीले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।