काठमाडौं । गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया, नेपाली व्यवसायी संघ मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले संयुक्त रूपमा इलाम जिल्लामा हालै आएको बाढी तथा अविरल वर्षाबाट प्रभावित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
गत असोज १८ देखि २० गतेसम्मको लगातार वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति भएको थियो। सोही विपद्बाट प्रभावित स्थानीय बासिन्दाहरूको सहयोगार्थ संघले देउमाई नगरपालिका, माङ्सेबुङ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका बाढीपीडितहरूलाई राहतस्वरूप आर्थिक सहयोग वितरण गरेको हो।
संघका महासचिव प्रमोद शर्माका अनुसार देउमाई नगरपालिकाका ६० घरधुरी, माङ्सेबुङ नगरपालिकाका १४ घरधुरी र फाकफोकथुम गाउँपालिकाको १ घरपरिवार गरी कुल ७५ घरपरिवारलाई प्रति घरधुरी ५,००० रुपैयाँका दरले सहयोग प्रदान गरिएको हो।
संघका पदाधिकारीहरू स्वयं क्षतिग्रस्त क्षेत्रमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए। सो अवसरमा स्थानीय बासिन्दा र सम्बन्धित नगरपालिका प्रतिनिधिहरूले NRNA मलेसियाप्रति आभार व्यक्त गरेका थिए।
उक्त राहत सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखा र नेपाली व्यवसायी समाज मलेसियाले समेत आर्थिक योगदान पुर्याएका थिए।
राहत रकम संघका अध्यक्ष इन्द्र नारायण लिम्बु, महासचिव प्रमोद शर्मा, उपाध्यक्ष बालध्वज लिम्बु लगायतको टोलीले इलाम पुगेर बाढीपीडित परिवारहरूलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरेका हुन्।
संघले भविष्यमा पनि यस्ता प्राकृतिक विपद्बाट प्रभावित नेपालीहरूलाई निरन्तर सहयोग र साथ प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।