सर्लाही । प्रदेशिक अस्पताल मलंगवा सर्लाहीका प्रमुख डा. संजीव कुमार सिंह यही कार्तिक १७ गते अवकाश हुन लागेका छन् । तर, अवकाशपूर्व नै उनले अस्पतालमा रहेका र विभिन्न सप्लायर्समार्फत खरिद गरिएका लाखौं मूल्यका सरकारी सामग्रीहरू आफ्नो निजी प्रयोगका लागि सारेको आरोप लागेको छ ।
अस्पतालका स्रोतका अनुसार, डा. सिंहले गएको शनिवार र शुक्रबार अस्पताल परिसरमा रहेका तथा केही व्यापारीहरूसँगको मिलेमतोमा मँगाइएका पलंग, दराज, डस्ना, पंखा, कुलर लगायतका सामग्रीहरू अस्पतालको गाडीमार्फत बिरगञ्जस्थित आफ्नै निजी निवासमा पठाएका हुन् ।
साक्षीका रूपमा रहेका केही कर्मचारीहरूले अस्पतालको आधिकारिक गाडीमा ती सामग्रीहरू लोड गरी बाहिर पठाइएको पुष्टि गरेका छन् । ती सामग्रीहरू अस्पतालको आवश्यकताका लागि खरिद गरिएका थिए भने उनीहरूले ‘अवकाशअघि नै अस्पतालका सम्पत्ति आफ्नो स्वार्थमा प्रयोग गर्ने तयारी भएको’ आरोप लगाएका छन् ।
घटनाबारे जानकारी लिँदा अस्पतालका अन्य चिकित्सक तथा कर्मचारीहरूले समेत आक्रोश व्यक्त गर्दै यसबारे तत्काल छानबिनको माग गरेका छन् ।
उनीहरूले भने, ‘अस्पतालका नाममा खरिद गरिएका वस्तुहरू निजी घरतर्फ लैजानु दुरुपयोगको स्पष्ट उदाहरण हो। यसमा सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्छ ।’ भन्दै आक्रोश प्रकट गरेका छन् ।
यस घटनापछि अस्पतालभित्र चर्को आलोचना भएको छ । केही कर्मचारीहरूले भने अस्पताल प्रशासन र स्वास्थ्य कार्यालय मधेस प्रदेशले तत्काल छानबिन टोली गठन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
उता, प्रमुख डा. संजीव कुमार सिंहसँग सम्पर्क गर्ने प्रयास गरिएको भए पनि उनको कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन । स्थानीय स्रोतका अनुसार, डा. सिंहले प्रमुखको पदमा रहँदा अस्पतालका कामकाजमा विवाद र अनियमितता बढ्दै गएको गुनासो पनि बारम्बार उठ्दै आएको थियो । अब अवकाशपूर्व नै सरकारी सामग्री निकालिएको घटना बाहिरिएपछि अस्पताल प्रशासनको विश्वसनीयतामाथि थप प्रश्न उठेको छ ।










