नयाँ इतिहास रच्ने गरि पालिकाको खेल क्षेत्रको विकासमा छौं : अध्यक्ष रोकाया

everest kitchen

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले पालिकालाई खेल क्षेत्रको विकासमा नयाँ ईतिहास रच्ने गरि स्थानीय सरकार कटिबद्ध भएर लागेको बताएका छन्।

शनिबार प्रथम ‘पालिका कप’ फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उनले खेल क्षेत्रको विकासमा लागेको बताएका हुन्।

खेल र खेलाडीको सर्वाङगिण विकासका लागि पालिका पहिलो कार्यकाल देखि नै कटिबद्ध भएर लागेको अध्यक्ष रोकायाले बताए ।

खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण छ । खेलले खेलाडीलाई मात्र नभई राष्ट्रको मान,सम्मान तथा राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउने हुँदा पालिकाको खेल क्षेत्रको विकासमा कुनै कमी हुने छैन,’ अध्यक्ष रोकायाले भने ।

कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले आगामी वर्षदेखि गाउँपालिकामा ‘देशभरिकै नमूना कप’ आयोजना गर्ने घोषणा समेत गरेका छन् । ‘खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्न आगामी बर्ष देखि ‘देशभरिकै नमूना कप’ आयोजना गर्नेछौं,’ उनले भने,‘नमुना कप प्रतियोगिताले पालिकाको खेल क्षेत्रको विकासमा थप टेवा पुग्नेछ ।’

गाउँपालिकाद्वारा आयोजना गरिएको प्रथम खुल्ला सेभेन ए–साइड गौमुल कप फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा उनीहरुलाई प्रोत्साहनमा सहयोग पुग्ने बताइएको छ । साथै अध्यक्ष रोकायाले गाउँपालिकाले खेलमैदानको व्यवस्थापन गर्दै बृहत्तर खेलकुद कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको बताए ।

खेलकुद क्षेत्रले आपसी सद्भाव, सामाजिक एकता,भाईचाराको भावना र स्वस्थ्य जीवन निर्माणमा सहयोग पुर्याउने हुँदा खेलकुद क्षेत्रको विकासमा जोड दिन आवश्यक रहेको उनले बताए । ‘खेल क्षेत्र समाज विकासको एक महत्वपूर्ण आधार हो। त्यसैले खेल क्षेत्रलाई उच्च प्राथामिकतामा राख्न जरुरी छ,’ उनले भने ।

खेलाडीहरुमा अभ्यास, अनुशासन पयाप्त हुनुपर्ने भन्दै उनले खेल क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न आवश्यक रहेको समेत बताए ।

बाजुरामा उचित किसिमको खेल मैदान नहुँदा समस्या हुँदै आएको भन्दै उनले सिङ्गो बाजुरा जिल्लाको खेल क्षेत्रको विकासमा सम्पुर्ण राजनितिक दल, सरोकारवाला निकाय, स्थानीयले ध्यान दिन आवश्यक रहेको बताए ।