काठमाडौं । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
ढकालले अमेरिकामा रहेका नेपाली व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र वित्तीय सेवा लगायतका क्षेत्रमा विशाल सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारसँग मिलेर महासंघ सक्रिय रूपमा काम गरिरहेको छ ।’
उनका अनुसार हालै स्थापना गरिएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपिएल) मार्फत अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले प्रत्यक्ष रूपमा नेपालमा लगानी गर्न सक्ने अवसर खुला गरिएको छ ।
ढकालले सम्मेलनमा आफ्नो अनुभव र दृष्टिकोण साझा गर्दै गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालको आर्थिक विकासमा योगदान गर्न आग्रह गरे । उनले भने, ‘आउनुहोस्, आफ्नो मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालमा लगानी गरौँ । तपाईंहरूको योगदानले नेपालको आर्थिक विकास मात्र होइन, हाम्रो पहिचान पनि सुदृढ हुनेछ ।’











